हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वार्टरफाइनल चरणको २ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

बिहीबार भएको क्वार्टरफाइनलको २ खेलहरुमा जीत निकाल्दै वडा–७ र वडा–१ सेमिफाइनलमा प्रवेश गरेको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–४ स्थित ऋषेश्वर फुटबल क्लबको व्यवस्थापनमा भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा–८ लाई वडा–७ ले टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा वडा–१२ लाई १–० गोल अन्तरले वडा–१ ले पराजित गरेको छ । पहिलो खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतियोगिता अन्तर्गत आज शुक्रबार हुने सेमिफाइन चरणको पहिलो खेलमा वडा–१ र वडा–४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा वडा–७ र वडा–३ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रत्येक खेलको म्यान अफ म्याचका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।