पत्रकार सम्मेलनमा पदमपोखरी महोत्सव बारे जानकारी गराउँदै आयोजक ।

हेटौँडा : हेटौँडा–१३ नम्बर वडा कार्यालयको आयोजनामा ३ दिने प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ४, ५ र ६ गते पदमपोखरीको लोकतान्त्रिक चोकमा महोत्सव हुने भएको हो ।

स्थानीय व्यापार, कृषि उपज उत्पादनलाई प्रवद्र्धनसँगै वडाबासीको आर्थिक स्थितिलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पदमपोखरी महोत्सव आयोजक मूल समारोह समितिकी संयोजक रन्जु गेम्जाले जानकारी दिनुभयो । महोत्सवले पदमपोखरीको पहिचानसँगै आन्तरिक पर्यटनलाई टेवासँगै कला, साहित्य तथा संस्कार, संस्कृति जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय परम्परागत उपभोग्य कृषि उपज मकैको खोस्टाबाट बनेको चकटी, बाबियो/बाँसजन्य सामग्री मान्द्रो, नाङ्लो र परालबाट बनेको गुन्द्री, काठजन्य सामग्री, कृषिजन्य उत्पादन तरकारी, फलफूल, मकै, कोदो, फापर, गहुँ चामलको पिठो महोत्सवको आकर्षण रहेको उहाँले जानकारी दिनुभयो ।

खानाका विभिन्न परिकारसहित ८० वटा स्टलहरु रहने बताइएको छ । १३ नम्बर वडाको ४ लाख रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाको २ लाख रुपैयाँ र बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख रुपैयाँ गरी कुल ७ लाख रुपैयाँको सहयोगमा महोत्सव आयोजना गर्न लागिएको संयोजक गोम्जाले जानकारी दिनुभयो । महोत्सवमा रोज मोक्तान, प्रिति आले, प्रकाश तितुङ, बिक्रम लुङ्बा, धिरेन लामा लगायत कलाकारहरुको सांगीतिक प्रस्तुती रहने जनाएको छ । पत्रकार सम्मेलनमा वडा अध्यक्ष पेम्बा लामा लगायतको उपस्थिति रहेको थियो ।