बुधबार बागमती प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशसभाले ५ वटा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफलसहित विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बुधबार नै बसेको बैठकमा प्रदेशसभाको पहिलो बैठकमा पेश भएको उक्त विधेयकहरुको सैद्धान्तिक पक्षमा छलफल गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भएर आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

सो विधेयकहरुको सैद्धान्तिक पक्षहरु माथि प्रदेश सभा सदस्य रत्न प्रसाद ढकाल, प्रेमबहादुर पुलामी र उद्धव थापाले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले उठाएका प्रश्नहरुको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुभएको छ । सो लगत्तै प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले विधेयकहरु माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्नुभएको थियो । उहाँले निर्णयार्थ पेश गरेको उक्त विधेयकहरु सर्वसम्मत स्वीकृत भएको हो । उक्त विधेयकहरु प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने प्रदेशसभाले तयारी रहेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।