हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कृषितर्फ सतप्रतिशत योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकामा कृषितर्फ विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषितर्फ विनियोजित बजेट मध्ये ९० प्रतिशत रकम मात्रै खर्च गरेर सतप्रतिशत कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकाको कृषितर्फको मुख्य योजनाहरुमा गाउँपालिकाको वडा नम्बर ८ को बुढिचौरलाई तरकारीको पकेट क्षेत्र घोषणा गरेर तरकारीको प्लाष्टिक हाउस (टनेल) निर्माण गरेको छ । गाउँपालिकाले सो कार्यक्रमको लागि १४ लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रमबाट १ सय २५ जना कृषक लाभान्वित भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । टनेलमा मुख्यतः गोलभेडा उत्पादन हुन्छ भने काउली, बन्दा, धनिया, सागहरु र लहरे तरकारीहरु पनि उत्पादन हुने गरेको छ ।
गाउँपालिकाको अर्को महत्वपूर्ण योजनाका रुपमा कागती खेतीलाई विस्तार गरेको छ । गाउँपालिकाले कागतीका १३ हजार विरुवा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर २ को मोहोरेमा आर्थिक वर्ष २०७५/७६ बाटै कागतीको खेती सुरु भएको थियो । त्यहाँ अझै विस्तार गरिएको छ भने वडा नम्बर ५ र ७ मा यस वर्षबाट कागती खेती व्यावसायिक रुपमा सुरुवात गरिएको छ । गाउँपालिकाको ८ वटै वडाहरुका किसानहरुले कागती खेती सुरु गरेका छन् । गाउँपालिकाको ६ लाख बजेटमा कागतीको विरुवा वितरण गरेर रोपिएको हो । १३ हजार कागतीका विरुवा वितरण कार्यक्रमबाट गाउँपालिकाका ७ सय किसान लाभान्वित भएका छन् । गाउँपालिका कृषक समुह, कृषि सहकारी, कृषि फार्म र व्यक्तिगत रुपमा किसानहरुलाई पनि कागतीको बिरुवा वितरण गरिएको छ ।
गाउँपालिकाले आधुनिक कृषि प्रणाली विकास गर्न यान्त्रिकरण प्रवद्र्धनको लागि १५ लाख बजेट विनियोजन गरेको थियो । जसमा वडा नम्बर २ को कुर्ले कृषि सहकारीलाई खेतबारी जोत्ने एउटा ठूलो ट्याक्टर प्रदान गरेको छ । ५० प्रतिशत अनुदानमा ट्याक्टर प्रदान गरेको हो । त्यस्तै गाउँपालिकाका विभिन्न कृषक समूह र कृषि सहकारीहरुलाई २२ वटा हाते ट्याक्टर (मिनि ट्रिलर) वितरण गरेको छ । जसमा १२ वटा ९ हर्जपावरको र १० वटा ७ हर्जपावरको वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले १० वटा साना सिञ्चाई योजना सम्पन्न भएको बताएको छ । गाउँपालिकाका १६ वटा कृषक समूह र कृषि सहकारी मार्फत कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । साना सिञ्चाई कार्यक्रमले गाउँपालिकाको वडा नम्बर ५ र ८ बाहेक अन्य सबै वडाहरुको किसान लाभान्वित हुने गाउँपालिकाले जानकारी दिएको छ । मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाका विभिन्न स्थानको माटोको ४० वटा नमुना परिक्षण गरेको छ । गाउँपालिकाले गाउँपालिकाका किसानहरुलाई धानको बीउ वितरण गर्नुका साथै विभिन्न फलफुलहरु लिचि, आप, कटहर, अनार, अम्बा लगायतका विरुवाहरु पनि वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बादरले वर्षेनी किसानलाई सताउने, अन्नबाली खाइदिने नास गरिदिने हुनाले ति बाँदर प्रभावित ठाउँहरुमा बाँदर नियन्त्रण गर्न बेसार खेती लगाइर्एको छ । त्यस्तै वडा नम्बर ७ मा अदुवा खेती लगाइएको छ । गाउँपालिकाले बेसार र अदुवा खेतीको लागि ५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले अन्य स्थानबाट गाउँपालिकामा बसाई सरेर आउनेलाई ५०/५० हजार रकम प्रदान गर्ने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार अन्य स्थानबाट आएका ५ परिवारलाई रकम प्रदान गरेको छ ।