सरकारले ४ महिनापछि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथामका लागि भन्दै गरिएको बन्दाबन्दीले अर्थतन्त्र तहस–नहस नै भएको छ । सामाजिकदेखि नागरिक जीवन अन्यौल बनेको छ । लाखौं नागरिकले आम्दानीका श्रोतबाट हात धुनु परेको छ भने व्यापार, व्यवसाय ठप्प भएको छ । व्यक्ति, सामाजिक र राज्यकै आर्थिक अवस्था ध्वस्त नै बनेको छ । यसको पुर्तिका लागि वर्षौं लाग्ने छ । यही अवस्थाको निरन्तरता भन्दा अब कोरोनासँगै बाँच्ने अभ्यास आवश्यकता भएको छ । त्यसैले सरकारले पनि असार १ गतेदेखि केही खुकुलो गरेको बन्दाबन्दीको अवस्था अब भने अन्त्य नै भएको घोषणा गरेको छ ।

कोभिड प्रभावित विश्वका धेरै देशहरुले बन्दाबन्दीको अभ्यास गरेका छन् । संक्रमण केही नियन्त्रणमा आएपछि बजार खुल्ला गरेका देशहरुले फेरी संक्रमण बढ्न थालेपछि बन्दाबन्दी दोहो¥याएको अवस्था पनि छ । अन्य विषय भन्दा पहिला ज्यानको सुरक्षा हो । अरु मुलुकको जस्तै नेपालमा पनि फेरी लकडाउन हुन नदिन नागरिक स्वयम् होशियार र जिम्मेवार बन्नुको विकल्प छैन । रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि राज्यले लकडाउन अन्त्य गरेको छ । भाईरसको संक्रमण पूर्ण रुपमा नियन्त्रण भएर लकडाउन अन्त्य भएको हैन । यदि यस्तो भ्रममा परियो भने परिस्थिति थप जटिल हुने पक्का छ । त्यसैले आफ्नो व्यवहार परिवर्तन आजको आवश्यकता हो । लकडाउन राज्यका लागि नभई नागरिकका लागि नै थियो । खुल्ला पनि नागरिकका लागि गरिएको हो ।

बन्दाबन्दीको अन्त्य गर्दा कोरोनाको संक्रमण झन बढ्ने खतरा रहन्छ । आफु बाहेक सबै नागरिक कोरोनाबाट संक्रमित छन् भन्ने मान्यता प्रत्येक व्यक्तिमा हुन आवश्यक छ । सोही मान्यताका आधारमा सामाजिकदेखि व्यक्तिगत व्यवहार गरेमा कोरोना महामारीबाट बाँच्नेदेखि नियन्त्रणका लागि सहयोग पुग्ने छ । महामारीकोे अन्त्य अनिश्चित भएपछि अब कोरोनासँगै बाँच्ने अभ्यास गर्नै पर्दछ । सरकारले जनजीवन सहज बनाउनका लागि मात्र लकडाउनको अन्त्य गरेको हो । त्यसैले सुरक्षाका सबै उपायहरु अपनाउनु जरुरी छ । नत्र भने विश्वका अन्य मुलकुले भोगेको दुर्दशा व्यहोर्नु पर्ने छ । कोभिडलाई हेलचेक्र्याईँ गरी जीवन जोखिममा पर्ने काम जिम्मेवार नागरिकबाट हुन सक्दैन ।

देशमा लकडाउन सुरु गर्दा दुईजना मात्र कोरोना संक्रमित थिए । बन्दाबन्दीमा जति कडाई हुँदै गयो, त्यति नै संक्रमितहरुको संख्या बढेको देखिन्छ । यसले बन्दाबन्दी गरेर मात्र कोरोना नियन्त्रण हुँदैन भन्ने प्रमाणित गरेको छ । नियन्त्रणका लागि त पर्याप्त परिक्षण गरी संक्रमितलाई छिटो भन्दा छिटो समुदाय भन्दा अलग गरी उपचार गर्नु नै हो । तर सरकारले यो बन्दाबन्दीलाई नागरिक सुरक्षा भन्दा सत्तासंकट टार्ने र अनियमितता गर्ने काममा प्रयोग गरेको आरोप लागेको छ । चार महिनासम्म गरिएको बन्दाबन्दीको समिक्षा गर्नुपर्ने आवश्यकता छ । जनजीवन सुरक्षाका नाममा भएका काम, गतिविधि र निर्णयहरु कति प्रभावकारी भए भन्ने महत्वपूर्ण पक्ष हो । जे भए पनि अहिलो लकडाउनको अन्त्य भएको छ । तर यसलाई कोभिड नै सकिएको ठानिए महाभूल हुनेछ ।