हेटौंडाः बागमती प्रदेशमा साउन पहिलो हप्तासम्ममा ८२ प्रतिशत धान रोपाइ सकिएको छ । बागमती प्रदेशको करिब १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुन्छ भने साउन पहिलो सातासम्म १ लाख १० हजार ५ सय ३९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशमा हालसम्म ८२ दशमलव ३५ प्रतिशत धान रोपाइ सम्पन्न भएको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा धेरै जिल्ला चितवनमा २८ हजार ६ सय हेक्टर जमिनमा धान रोपाइ हुन्छ । त्यहाँ २१ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ । चितवनमा साउन पहिलो हप्तासम्ममा ७५ प्रतिशत धान रोपाइ सकिएको हो । मकवानपुरमा भने साउन पहिलो हप्तासम्ममा ७५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लाको ११ हजार हेक्टर क्षत्रफलमा धान रोपाइ हुन्छ । जसमा ८ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । बागमती प्रदेशका जिल्लाहरुमा साउन पहिलो हप्तासम्ममा नुवाकोटमा ८३, रसुवामा ७६, ललितपुर र कामाडौंमा ९५, भक्तपुरमा ९४ प्रतिशत धान रोपाइँ सकिएको हो ।
त्यस्तै काभ्रेपलान्चोकमा ८५, सिन्धुपाल्चोकमा ९०, दोलखामा ८०, सिन्धुली ८४ र धादिङमा ९० प्रतिशत धान रोपाइ सकिएको छ । प्रदेशको सबैभन्दा कम धान रोपाइ भएको जिल्ला रामेछाप हो । त्यहाँ हालसम्म जम्मा ६५ प्रतिशत जमिनमा धान रोपाइ भएको छ ।