नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । माघ १० गतेदेखि नै सहिद सप्ताहसँगै माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका लागि बलिदान दिएर लोकहितकारी काम गरेका अमर व्यक्तिलाई सहिद भनिन्छ । व्यक्तिगत वा पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र, देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति सहिद हुन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक वा अन्य स्वतन्त्रता वा परिवर्तनका लागि भएका आन्दोलनहरुमा कुनै न कुनै व्यक्तिले आफ्नो जीवन बलिदान दिएका हुन्छन् र सहिदको रुपमा सम्मान पाएका हुन्छन् । हरेक देश र समाजले सहिदलाई महान् ठानेर उनीहरुको वीरता र योगदानको कदर गर्नुपर्छ । यसैकारण नेपालको भूभागको रक्षा गर्न वा राजनीतिक व्यवस्था परिर्वतनका लागि भएका युद्ध तथा आन्दोलनका सहिदको स्मरण गर्न सहिद दिवस मनाउने गरिएको हो ।

ज्ञात अज्ञात सहिदप्रति श्रद्धाभाव प्रकट गरी उनीहरुको योगदान स्मरण गर्दै उनीहरुको सपना पूरा गर्न प्रतिबद्ध हुने विशेष दिन सहिद दिवस हो । नेपाल एकीकरण अभियान, नेपाल–अंग्रेज युद्ध तथा नेपाल–तिब्बत युद्धका क्रममा धेरै नेपालीले आफ्नो बलिदान दिएका थिए । निरंकुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाको लागि भएका विभिन्न संघर्षको क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मानका लागि प्रजातन्त्र स्थापनापछि हरेक वर्ष सहिद दिवस मनाउने गरिएको छ । जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएका लखन थापालाई नेपालको पहिलो सहिद मानिन्छ । राणा शासनविरुद्ध राजनीतिक संगठन खोलेर पर्चा छरेको अभियोगमा क्रुर यातनासहित मृत्युदण्ड पाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई नेपालमा सहिदको विशेष स्थान दिएको पाइन्छ ।

नेपालमा राणा शासनको विरोधबाट राजनीतिक आन्दोलन सुरु भएको हो । त्यसयता मुलुकमा धेरै प्रकारका आन्दोलनहरु भएका छन् । ती सबै आन्दोलनको क्रममा थुप्रै व्यक्ति सहिद भएका छन् । जुन उद्देश्य र अठोट लिएर आन्दोलन भए, सहिदले जुन कुरा प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिए, ती कुरा व्यवहारमा पाइएको छैन । यो वा त्यो व्यवस्था परिवर्तन भए पनि आम नागरिकको अवस्थामा परिवर्तन ल्याउन सकेन । सहिदको सपना पूरा गर्छौं भनेर शासन सत्तामा पुगेकाहरु पनि आफू र आफ्नो आसेपासेकै सपनामा रमाउने गर्दछन् । भाषणमा सहिदको गुणगान गाउँदै सहिदको सपना पूरा गर्ने आश्वासनकै कारण पदमा पुगेकाहरुबाटै सहिदको योगदानको अवमूल्यन भइरहेको छ । जस्तोसुकै घटनामा मारिएका र जुनसुकै व्यक्तिलाई सहिद घोषणा गर्ने परिपाटीले सहिदको गरिमालाई थप कमजोर बनाइरहेको छ ।

सहिदले प्राण उत्सर्ग गरेकै कारण प्राप्त भएको प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक, संघीय शासन व्यवस्थाबाट सहिदका परिवार र आम नागरिकको जीवनमा के परिवर्तन भयो भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ । वर्षको एक दिन सहिद दिवस मनाएर सहिदको बलिदानको बखान गाएर उनीहरुको सम्झनामा आँशु झार्दैमा सहिदको सम्मान हुँदैन । वर्षभरि सहिदलाई बिर्सनेले सहिद दिवसमा पनि सहिदलाई नसम्झेकै उचित हुनेछ । सहिदको सपना पूरा गर्ने नाममा आफू, परिवार र आफन्तको सपना पूरा गर्नेहरुले सहिदको सपना पूरा गर्न सम्भव छैन । सहिदको सपना पूरा गरेर देशलाई समृद्ध बनाउन कुनै राजनीतिक दल र नेतृत्व उदासिन बन्नुले सहिद दिवस मनाउने कामलाई पनि औचित्यहिन बनाइरहेको छ । सहिदका सपना सार्थक बनाउने दिशामा गम्भीर तथा इमानदार नहुँदासम्म सहिदले सम्मान र न्याय पाउन नसक्ने निश्चित छ ।