हेटौंडाः बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा २ वर्षमा निर्माण सम्पन्न गरेको ३२ सडकपुलको बुधबार एकैसाथ उद्घाटन गरेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको दुबोखोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटन गरेसँगै ३२ वटै सडकपुलको उद्घाटन भएको घोषणा गर्नुभयो । उहाँले इन्टरनेट प्रविधिको उच्चतम प्रयोग हुन नसकेको स्वीकार्दै अविरल वर्षाको कारण सम्बन्धित क्षेत्रमा गएर पुल उद्घाटन गर्न नसकेको बताउनुभयो ।
सडकपुलको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले चालु वर्षमा १ सय २० सडकपुलहरु प्रदेशमा निर्माण भैरहेको बताउनुभयो । यस्तै १३ वटा झोलुङ्गेपुल सहित १२० वटा सडकपुलका लागि चालु वर्षमा १ अर्ब रुपैयाँ बराबरको काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभयो । उहाँले अबको १ महिनापछि १० वटा पक्की सडकपुलको निर्माण सम्पन्न हुने समेत बताउँदै गएको २ वर्षमा १३ सय किलोमिटर सडक प्रदेश सरकारले निर्माण गरेको बताउनुभयो । उहाँले कुल ७३ करोड ६७ लाख ४३ हजारको लागतमा ३२ पुलको निर्माण सम्पन्न भएको र ती पुलहरुको कुल लम्बाई ९९२.९ मिटर रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशले २ वर्षको अवधिमा सिन्धुपाल्चोक जिल्लामा ५ वटा पुल, काभ्रेपलान्चोकमा ५, ललितपुरमा ५, दोलखा, चितवन, र नुवाकोटमा ३÷३, मकवानपुरमा २, काठमाडौं, भक्तपुर, धादिङ, सिन्धुली र रामेछापमा १/१ पुलको निर्माण गरेको हो । कुल ३२ निर्माण सम्पन्न पुलमध्ये १७ पुल आरसीसी बिम भएको, ७ पुल आरसीसी बक्स, ४ पुलमा स्टिल प्लेट गर्डर, स्टिल ट्रस र सस्पेन्सन पुल २/२ वटा रहेको छ । एकैसाथ ३२ पुलको उद्घाटन गर्नुभएपछि बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले अब बागमती प्रदेशले गरेको कामको परिणामहरु देखिन सुरु भएको बताउनुभयो । उहाले बागमती प्रदेश सरकार भौतिक पूर्वाधार क्षेत्र, शिक्षा, स्वास्थ्य र कृषिमा क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले २०७८ साल साउन ७ गतेभित्र अहिलेको निर्माण सम्पन्न ३२ पुलसहित १ सय पुलको निर्माण सम्पन्न भई उद्घाटन गरिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले प्रदेश सरकारको गौरवको आयोजना सुरुङमार्गको चालु आर्थिक वर्षको पहिलो चौमासिक भित्रै ठेक्का गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेशले पुष्पलाल चक्रपथ, उपत्यका काँठ चक्रपथ र मनहरी–धादिङ निस्कने चक्रपथ निर्माण गर्न लागेको भन्दै निर्माण सम्पन्न भैसकेपछि प्रदेशमा सडकहरु पर्याप्त हुने बताउनुभयो । मन्त्री फुँयालले हेटौंडाको चुरियामाईमा रहेको सुरुङमार्गलाई प्रदेश र संघ सरकारको सहयोगमा मर्मत गरेर प्रयोगमा ल्याइने आश्वासन दिनुभयो ।
कार्यक्रममा भौतिक पूवार्धार विकास मन्त्रालयका सचिव तेजराज भट्टले गत आव २०७६/७७ मा प्रदेशभर ४९ हजार ६ सय ६३ घरमा खानेपानीको पहुँच विस्तार गरिएको बताउनुभयो । उहाँले प्रदेशको खानेपानीतर्फ वित्तीय प्रगति ८७ प्रतिशत र भौतिक प्रगति ८४ प्रतिशत रहेको बताउनुभयो । त्यस्तै सिञ्चाईतर्फ गत वर्षमा ४ हजार ४ सय ४८ हेक्टर थप जमिनामा सिञ्चाई गर्न सकिने व्यवस्था गरिएको भन्दै २० किलोमिटर नदि नियन्त्रण गर्न मन्त्रालय सफल रहेको बताउनुभयो । उहाँले सिञ्चाईतर्फ मन्त्रालयले गत वर्ष ७० प्रतिशत वित्तीय प्रगति र ७७ प्रतिशत भौतिक प्रगति गरेको जानकारी गराउनुभयो । यस्तै भवन तथा सहरी विकासतर्फ ४२ प्रतिशत वित्तीय प्रगति र भौतिक प्रगति ६७ प्रतिशत भएको जानकारी दिनुभयो ।
भौतिक मन्त्रालयका सचिव भट्टले गत वर्षमा प्रदेशको जनता आवास कार्यक्रमको लक्ष्य ८ सय १९ घर निर्माण गर्ने रहेकोमा ६ सय २० घरको मात्र निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयमा गत वर्ष सडकपुल तर्फ ६२ प्रतिशत वित्तीय प्रगति र ७० प्रतिशत भौतिक प्रगति गर्न सफल भएको छ । गत वर्षमा प्रदेशभर ४९० किलोमिटर कच्चीसडक निर्माण, ७३ किलोमिटर कालोपत्रे, २११ किलोमिटर ग्राभेल र १९ वटा सडकपुल निर्माण सम्पन्न भएको सचिव भट्टले जानकारी दिनुभयो ।
बुधबार भएको कार्यक्रममा ३२ पुलको एकैसाथ उद्घाटन भएको भन्दै छोट्टो समयमा थोरै बजेटले धेरै काम भएको बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशसभा सदस्यहरु जुनेली श्रेष्ठ, सन्तबहादुर प्रजा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मनहरी गाउ“पालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वतीको पनि उपस्थिति रहेको थियो ।
परेवाभीर छलेर बाटो बन्छः मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सामाजिक सञ्जालमा तथा जताततै मकवानपुरको विकट राक्सिराङ गाउँपालिका जाने परेवाभीरको तस्वीर देखिएको बताउनुभयो । उहाँले प्राविधिक दृष्टिकोणबाट हेर्दा कुनै पनि हालतमा परेवाभीरबाट सडक नबन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पक्का बन्छ तर, परेवाभीर छलेर ।”
परेवाभीरैबाट सडक बन्न नसक्ने भन्दै छुट्टै सर्भे गरेर डिपिआर भएर बजेट समेत छुट्टाइसकेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले मनहरी हुँदै धादिङ मलेखु जाने बाटो बन्ने पक्का भएको समेत घोषणा गर्नुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरबाट बाटो नबन्ने भनेपछि राक्सिराङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य सन्त बहादुर प्रजाले त्यसको खण्डन गर्नुभएको छ । परेवाभीरबाट बाटो बन्ने भनेर मन्त्रीहरु सोहि स्थानको अवलोकन गर्ने, डिपिआर पनि गर्ने र अहिले राजनैतिक अनुकुल गराएर ट्रयाक परिवर्तन गरिएको आफु असहमत रहेको बताउनुभयो । प्राविधिकहरुले परेवाभीरबाट बन्न सक्ने भनेर डिपिआर सम्पन्न गरिसके पनि अहिले आएर बाटो बन्न मुख्यमन्त्रीले नसक्ने भनेपछि दुःख लागेको सांसद प्रजाले बताउनुभयो ।
उहाँका अनुसार मनहरी गाउँपालिकाका ७० हजार नागरिक र राक्सिराङका ५० हजार नागरिक परेवभीर हुँदै धादिङ मलेखु जाने बाटो बनेमा लाभान्वित हुनेछन् । उनीहरुले ३ देखि ४ घण्टामा नै काठमाडौंको यात्रा गर्न सक्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले मनहरी र राक्सिाराङ गाउँपालिकाका नागरिकहरुलाई छलाउन खोजिएको भन्दै यस्तो नर्गन आग्रह गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा परेवाभीरलाई नसमेटी बजेटमा कसरी उल्लेख गरेको आफुलाई थाहा नभएको र राक्सिराङ क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्य सांसदहरुलाई पनि यसबारे थाहा नभएको भन्दै आपत्ति जनाउनुभयो ।