सुपथ मूल्य पसलमा विक्रीका लागि राखिएका गेडागुडी ।

हेटौंडाः हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी उपभोक्ता सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सहकारीले किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्ने उद्देश्यले सुपथ मूल्य पसल खोलिएको जनाएको छ । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्य (डिना) को अध्यक्षता तथा बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेको प्रमुख आतिथ्यमा बुधबार सुपथ मूल्य पसलको उद्घाटन भएको हो ।

सुपथ मूल्य पसल हरेक दिन विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने छ । पसलमा सहकारीमा आवद्ध भएका शेयर सदस्यहरुले ल्याएका धान, मह, दुध, फलफुल, दलहन बाली र कृषक समूह तथा महिला समूहहरुले उत्पादन गरेको बस्तुहरुको विक्रि गर्ने भएको छ । कार्यक्रममा सहकारीकी अध्यक्ष डीनाले सहकारीले बहुआयामिक क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।

उहाँले गाउँ–गाउँमा उत्पादन भएका बस्तुहरुको बजारीकरणको व्यवस्था मिलाउन पसल सञ्चालनमा ल्याइएको भन्दै सहकारीले हेटौंडामा साबुन फ्याक्ट्री र गोलभेडा फ्याक्ट्री पनि निर्माणाधीन रहेको बताउनुभयो । ९ हजार शेयर सदस्य रहेको सहकारीमा मकवानपुर जिल्लाभर विभिन्न स्थानहरुमा ९ वटा शाखा कार्यालयहरु रहेका छन् । प्रमुख अतिथि राधा घलेले सहकारीले उदाहरणीय काम सुरु गरेको बताउनुभयो । उहाँले सरकारको तीनखम्बे नीति अनुसार सहकारी अर्थतन्त्रको मुख्य खम्बा भएकोले सहकारीले समाजबाद उन्मुख हुन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । केन्द्र सरकारले सहकारी ऐनको संशोधन गरेपछि प्रदेशले पनि संशोधन गर्न भूमिका निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सभा सदस्य सन्त बहादुर प्रजाले सरकारले सहकारी अनुदान वितरणमा विभेद गरेको दावी गर्नुहुँदै अनुदान वितरणमा समानता हुनुपर्ने बताउनुभयो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटाले देशको आमुल परिवर्तनमा सहकारी अभियान महत्वपूर्ण भएको भन्दै हेटौंडामा ५० हजार लिटर क्षमताको धुलो दुध उत्पादन गर्ने कम्पनी खोलिने बताउनुभयो ।

उहाँले अब सहकारीहरुले अन्तर–सहकारी शेयर लगानी गरेर पनि अगाडि बढ्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, नेपाली कांगे्रस मकवानपुर जिल्लाका कार्यवाहक अध्यक्ष विष्णु लामिछाने, विभिन्न सहकारीहरुका अध्यक्षहरु र सहकारीका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । सहकारीले बुधबार विहान हेटौंडा-११ गुरौविर्तामा रहेको आफ्नै ४८ कठ्ठा जमिनमा फलफुलको विरुवा रोपेको छ । सहकारीले आँप, लिची, कागती, कटहर, अम्बा लगायतका २ सय ९२ वटा विरुवाको रोपेको जनाएको छ ।