अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्मेलनमा हेटौँडाबाट सहभागीहरु ।

हेटौँडाः ताईवान अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्मेलन समापन भएको छ । ताईवान शिक्षा मन्त्रालयको सुपरीवेक्षण र राष्ट्रिय ताईवान विज्ञान शिक्षा केन्द्रले माघ ६ गतेदेखि आयोजना गरेको सम्मेलन शनिबार समापन भएको हो । सम्मेलनमा हेटौँडास्थित एष्ट्रोनोभा फाउण्डेशनका अध्यक्ष किशन बास्तोला र २ जना विद्यार्थी सहभागी भएका छन् । एष्ट्रोनोभा फाउण्डेशन नवप्रवर्तनका लागि क्रियाशील संस्था हो । फाउण्डेशनमातहतको हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रमार्फत नेपाली टोली ताइवान पुगेको हो ।

सम्मेलन र यसमा नेपालको सहभागिताको विषयलाई लिएर फाउण्डेशनले एक विज्ञप्ति नै जारी गरेर जानकारी गराएको छ । हरेक वर्ष जनवरीमा आयोजना हुने यो सम्मेलन ताईवानको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय विज्ञान अनुसन्धान प्रतियोगिता हो । सम्मेलनमा विश्वभरका विद्यालयका राष्ट्रिय प्रतिस्पर्धाबाट चुनिएका उत्कृष्ट विद्यार्थीले आफ्ना अनुसन्धान परियोजनाहरु वा सोधपत्रहरु प्रस्तुत गर्छन् । एष्ट्रोनोभा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाको नेतृत्वमा विद्यार्थी शुभम् हमाल र सम्पन्न भण्डारी नेपालको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए ।

हमालले वल्र्ड रोबोटिक्स च्याम्पियनसिप, आईआईटी मुम्बई विजेताका साथै विगत ६ वर्षदेखि रोबोटिक्स क्षेत्रमा रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी जनाउँदै आउनुभएको छ । भण्डारी गत वर्ष बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका, नेशनल गणित ओलम्पियाडमा तेस्रो श्रेणीमा पर्न सफल विद्यार्थी तथा आफ्नो विद्यालयको गणित क्लबका उपाध्यक्ष हुनुहुन्छ । हमाल र भण्डारी क्रमशः जेभियर एकेडेमी लाजिम्पाट र रातो बङ्गला विद्यालय ललितपुरमा कक्षा–१२ मा अध्ययनरत हुनुहुन्छ ।

भौगोलिक विकटता, साँधुरो पहाडी सडक, पहिरोको जोखिम र कमजोर सडक पूर्वाधारले गर्दा हुने सडक दुर्घटनामा हुने ढिलो सूचना प्रवाह र मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले परियोजना तयार पारेर सम्मेलनमा सहभागी भई प्रस्तुत गरिएको हेटौंडा अनुसन्धान तथा आविष्कार केन्द्रले जनाएको छ । परियोजनाले आपतकालीन अवस्थामा छिटो सूचना प्रवाह गरी समयमा उद्दार सुनिश्चित गर्न स्वचालित रुपमा मद्दत पु¥याउने बताइएको छ ।

सवारी साधन दुर्घटना भइसकेपछि सूचना प्रवाहमा ढिलाई हुने र नदीहरुमा बस खसेर बेपत्ता हुने समस्याले वर्षेनी धेरै जनधनको क्षति भइरहे पनि आजसम्म नेपालले समस्या समाधान गर्न नसकेको हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रले उल्लेख गरेको छ । केही महिनाअघि त्रिशूलीमा भएको बस दुर्घटनामा उद्दारको क्रममा देखिएका चुनौती र त्यसले राज्यलाई पु¥याएको नोक्सानीले यस्तो समस्याको डिजिटल समाधानको आवश्यकता थप पुष्टि गरेको बताइएको छ । यो समस्या केवल नेपालमा मात्र नभई नेपालको जस्तै भौगोलिक संरचना भएका अन्य देशहरूका लागि पनि साझा चुनौती भएकाले यसको समाधानका लागि परियोजनाको कल्पना र प्रोटोटाइप विकास गरिएको बताइएको छ ।

सम्मेलनमा नेपालसहित अमेरिका, जापान, सिंगापुर, कोरियालगायत २९ देशका ६ सय ५८ जना शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो । ५९ अन्तर्राष्ट्रिय अनुसन्धानमा आधारित परियोजनासहित राष्ट्रिय, अन्तर्राष्ट्रिय २ सय ८० भन्दा बढी प्रतिस्पर्धीले गणित, इन्जिनियरिङ, भौतिकशास्त्र तथा खगोल विज्ञान, रसायनशास्त्र, माइक्रोबायोलोजी लगायतका १३ विधाका अनुसन्धानमा आधारित परियोजना प्रदर्शनी गरेको जनाइएको छ । नेपालबाट प्रदर्शनीका लागि लगिएको प्रोजेक्ट इन्जिनियरिङ विधा अन्तर्गत रहेको बताइएको छ ।

नेपाल सरकारको साथ र सहयोग प्राप्त भएमा हेटौंडा अनुसन्धान तथा आविष्कार केन्द्रले नेपालको तर्फबाट धेरै अन्य अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी तथा प्रतियोगितामा युवा वैज्ञानिकहरूलाई पठाउन सक्ने र नेपालको नाम विश्व मञ्चमा उच्च बनाउन सक्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, नेपाल सरकार र सरोकारवालाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानका यस्ता परियोजनाहरुमा आफ्नो ध्यानाकर्षण गर्न आग्रह गरिएको छ । विद्यालयस्तरका विद्यार्थीको क्षमता बढाउन सानै उमेरदेखि रचनात्मक, सृजनशील एवम् वैज्ञानिक सोच, संस्कृतिको विकास गर्न सकेमात्र देश स्वावलम्बी र आत्मनिर्भर बन्न सक्ने जनाइएको छ । युवा प्रतिभाको प्रोत्साहन र समर्थनमार्फत् अनुसन्धान क्षेत्रमा नेपालको ख्याति बढाउन सरकारको सक्रिय भूमिका अत्यावश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।