कथा चौतारीमा रचना प्रस्तुत गर्दै एक विद्यार्थी ।


हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुने विद्यालयकी शिक्षिका एवम कार्यक्रम सहजकर्ता स्मिति गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जना प्रस्तुत गरिनेछ । कार्यक्रमको पहिलो दिन कक्षा १ का विद्यार्थीले आफ्ना रचनाहरू प्रस्तुत गरेका छन् । यस्तै सोमबार कक्षा २, मंगलबार कक्षा ४ र बुधबार कक्षा ४ र ५ का विद्यार्थीका रचनाहरू प्रस्तुत गरिने सहजकर्ता गिरीले जानकारी दिनुभयो । बालबालिका, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने र बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमले बालबालिकाको सोच, कल्पनाशक्ति र लेखन क्षमतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको गिरीले बताउनुभयो ।

सहजकर्ता गिरीका अनुसार कथा चौतारीले विद्यार्थीको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गर्नेछ । विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको गिरीको भनाइ छ । कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको छ । कक्षामा १ अध्ययन गर्ने विद्यार्थीको अभिभावक गंगा रोक्काले कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा भएको उल्लेख गर्नुहुँदै यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित ग¥यो, अभिभावकका लागि निकै प्रेरणादायी रहेको बताउनुभयो । यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान भएको उहाँको भनाइ छ ।

कार्यक्रममा साहित्यकार एवम् पठन संस्कृतिका अभियन्ता छविलाल श्रेष्ठ (छवि अनित्य) को प्रमुख आतिथ्य तथा विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीको सभाध्यक्ष रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका सदस्य आइतमान नेगीको विशेष आतिथ्य एवम् शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय जना विद्यार्थी अध्ययनरत् छन् ।