हेटौंडा: हेटौंडामा आइतबारबाट महिला तथा पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । आइतबार होटल सामनामा पुरुषतर्फको २५ औं र महिलातर्फको १० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय समिति र हेटौंडा चेस क्लबको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगितामा झापा जिल्लाका वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीले जीत निकालेका छन् । पहिलो दिनको खेलमा सुवेदीले सुरुवाती जीत निकालेका हुन् । २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको विजेतासमेत रहेका सुवेदीले पहिलो चरणको खेलमा ललितपुरका ट्याक्टिस मास्टर सरोज महर्जनलाई पराजित गरेका हुन् ।

बुद्धिचाल महासंघ केन्द्रीय समितिले केही वर्षदेखि राष्ट्रिय च्याम्पियनसिपको फम्र्याटमा नेशनल सिनियर च्याम्पियनका शीर्ष तीन जना खेलाडी र नेशनल ‘बी’वाट शीर्ष ९ जना खेलाडी सहभागी गराएर प्रतियोगिता आयोजना गर्दै आएको छ । महिला र पुरुष दुबै विधाका समान १२ जना खेलाडीबीच ११ चरणमा प्रतिस्पर्धा गराएर राष्ट्रिय विजेता घोषणा हुनेछ ।

आइतबार सम्पन्न पहिलो चरणको प्रतिस्पर्धात्मक खेलमा नेपाल द्वितीय सीएम शुश्रुत दहाल भने पूर्वनेपाल च्याम्पियन एफएम २३०० रेटिङका खेलाडी रुपेश जयसवालसँग पराजित हुन पुगेका छन् । प्रतियोगिताअन्तर्गत सामान्य खेल चलिरहँदा एउटा पाउन डाउन हुँदा रुपेशको पक्षमा खेल पुग्न गएको हो ।

यस्तै, नेपाल तेस्रो एफएम २३०० रेटिङका क्षितिज भण्डारीले अपेक्षा गरेको युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो र्याली खेलमा निराश पार्न सफल भएका छन् । सुरुको चरणमा एउटा पाउन छोडेर खेलेका सिलवालले अन्तिम समयमा दवाबको सामना गर्नुपरेको थियो । काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई गाह्रो परिस्थितिको खेलमा स्तब्ध पार्न सफल भएका छन् । खेलमा अनुभवले भरिपूर्ण भएका खेलाडी प्रेमकृष्णले धिरेनविरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

पूर्वनेपाल च्याम्पियन एवम् दोलखाका सिनियर युवा खेलाडी आशीष फुँयालले फिडे मास्टर (एफएम) २३०० रेटिङका खेलाडी रिजेन्द्र राजभण्डारीविरुद्ध उत्कृष्ट खेल प्रदर्शनी गरेर पिसअप हुँदै जीत निकाल्न सफल भएका छन् । पहिलो दिनको खेलमा जीत निकालेसँगै पहिलो चरणको खेलबाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशीष फुँयालले समान एक/एक अङ्क जोड्न सफल भएका छन् ।

महिलातर्फको खेलमा उदीयमान खेलाडी इशा गिरीले पुनम प्रसाईंलाई पराजित गर्दा एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरेर अप्रत्याशित नतिजा हासिल गर्न सफल भएका छन् । बाँकेकी गिरीले झापाका प्रसाईंविरुद्ध विसप सेन्टरलाइज गर्दै महत्वपूर्ण स्क्वायर कभर गरी जीत हासिल गर्न सफल भएकी हुन् ।

काठमाडौंकी एञ्जेलले ओलम्पियाड खेलाडी धिमाललाई एक्सिलेण्ट मुभ चाली हराएकी छिन् । यस्तै, वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जीत निकाल्दा झापाका कृतिसारा अधिकारीले नयुमा मगरलाई पराजित गरेकी छिन् । ताप्लेजुङकी सुशीला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई हारको उपहार दिएका छन् । पहिलो दिनको खेलसँगै इशा गिरी, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, सुशीला गुरुङ र बिनिता कपालीले एक–एक अंक जोडेर प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताका संयोजक नेपाल बुद्धिचाल महासंघका महासचिव धर बहादुर लामाले प्रतियोगिताको दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी दिनुभयो । बुद्धिचालका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्दै उत्कृष्टताको आधारमा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेलमार्फत् व्यावसायिक विकास गर्ने र बागमती प्रदेशको राजधानी हेटौंडालाई खेलकुदको माध्यमले चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा २४ औं राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगितामा सहभागी भएर पदक जितेका, राष्ट्रिय ‘बी’बाट छनौट भएका र ९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पदक जित्दै ‘बी’ क्याट्यागोरीमा परेका १२/१२ जना महिला र पुरुष खेलाडीको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा मकवानपुर जिल्लासहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, सुनसरीलगायतका जिल्लाबाट पुरुष खेलाडीको सहभागिता छ । महिला खेलाडी भने काठमाडौं, झापा, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वबाट सहभागी भएको उहाँले बताउनुभयो ।

प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन भइरहेको महासचिव लामाले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले श्रीलंकामा हुने एसियन जोनल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । उक्त प्रतियोगिता मार्च १० देखि १९ गतेसम्म हुने उहाँले बताउनुभयो । प्रतियोगिता दोस्रो हुनेले १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रो हुनेले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि नि:शुल्क खाना र बासको व्यवस्था गरिएको छ ।