हेटौँडा : बागमती प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५ करोड रुपैयाँ बजेट थप गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रस्ताव अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ थप बजेट उपलब्ध गराउने भएको हो ।

परिषद्ले प्रदेशको युवा तथा खेलकुद मन्त्रालय मार्फत् माग गरेको ७ करोड ५० लाख रुपैयाँ बजेट मध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ थप बजेट उपलब्ध गराउने सहमति भएको हो । उक्त विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट औपचारिक निर्णय हुन भने बाँकी रहेको छ । अर्थ मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनालीका अनुसार थप बजेट उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको स्वीकृति बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त योजनाका लागि प्रदेश सरकारले ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको र हाल ५ करोड रुपैयाँ थप बजेटसहित ८ करोड ७५ लाख रुपैयाँ उपलब्ध हुने सचिव मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको आर्थिक अवस्था र राजस्व संकलनको स्थितिका आधारमा उक्त बजेट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । विपद्का कारण भएको क्षति व्यवस्थापन गर्न बजेट आवश्यक भएकाले परिषद्ले माग गरे अनुसार बजेट दिन कठिन भएको उहाँको भनाई छ ।

आगामी चैत २५ देखि ३० गतेसम्म संचालन हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यसअघि प्रदेश सरकारलाई बजेट अभाव देखिएको थियो । कर्णाली प्रदेशमा हुने प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेश सरकार बजेट अभाव व्यहोर्नु पर्ने अवस्था देखिएको थियो । ३६ विधाका खेलकुद प्रतियोगिताको तयारी तथा सहभागिताका लागि सरकारलाई बजेट अभाव भएको थियो ।

प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको र उक्त बजेट मध्ये दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । प्रदेश सरकारले बजेट निर्माणको चरणमा पर्याप्त बजेट विनियोजना गर्न नसक्दा समस्या देखिएको थियो ।

३६ खेलका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको ३ करोड ७४ लाख रुपैयाँ र थप बजेट ५ करोड रुपैयाँले समेत अपुग हुने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष अन्तर प्रदेश खेलकुद संचालनका लागि मात्र प्रदेश सरकारले मन्त्रालयलाई ९ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

उक्त बजेट खेलाडी छनौटलाई समेत कठिन हुने उहाँको भनाइ छ । सो बजेटबाट ३६ खेलका खेलाडी छनौट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा सुविधामा खर्च हुने मन्त्री महर्जनले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केट बल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते, गल्फ, जिम्न्यास्टिक, ह्याण्डबल, हक्की, आइटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, खोखो, प्याराग्लाइडिङ, रग्बी, सेपाक ताक्रो, भलिबल, कुस्ती, उसु, सफ्टटेनिस लगायतका खेलहरुमा सहभागिता जनाउनु पर्नेछ ।

उक्त खेलहरुका १ हजार ३ सय खेलाडीहरु प्रदेशका १३ जिल्लाबाट छनौट गरी बन्द प्रशिक्षणमा राखेर सहभागी गराउनु पर्ने उहाँले बताउनुभयो । उनीहरुलाई आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखेर प्रतियोगितामा सहभागी गराउने गरी मन्त्रालयको तयारी गरेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको भएपनि चालु आर्थिक वर्षमा बजेट कटौती गर्दा मन्त्रालयको बजेट ७५ करोड रुपैयाँ मात्र रहेको उहाँले बताउनुभयो ।