हेटौँडा ः बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा शिल गरेको छ । गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंको टोलीले शिल गरेको हो ।

टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखामा शिल गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा शिल गरिएको हो । टोलीले सहकारीको सिस्टम सिज गरेको उहाँको भनाई छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । सहकारीका संचालकहरुसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उहाँले जानकारी दिनुभयो ।

गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा हालसम्म शिल गर्न सकिएको थिएन । एउटै नामका ३ सहकारीहरु देखिएको र उक्त विषयहरु मिलाउन पर्ने भएकाले सुमेरु सहकारीमा शिल गर्न कठिन भएको थियो । काठमाडौं, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले शिल गर्न समस्या भएको थियो ।

उक्त विषय समाधान गर्न विगत ३ दिनसम्म हेटौंडामा छलफल भएको थियो । गत बुधबार मात्र समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान गरी शिल गर्ने र आवश्यक कागजात तथा सिस्टम सिज गर्ने निर्देशन प्राप्त भएको थियो । सोही अनुसार ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने तयारी रहेको उहाँले बताउनुभयो । एकीकरणको सहमति भएपनि कारोवारको विवरणमा संलग्नता नरहेकाले काठमाडौंको सुमेरु सहकारीमा शिल नगर्ने निर्णय भएको उहाँको भनाई छ ।