घोषणा पत्रमा हस्ताक्षर गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा ।

हेटौंडाः शुक्रबार हेटौँडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ नकौली आधारभूत स्वास्थ्य केन्द्र, बाँझोडाँडाको परिसरमा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका–१, नम्बर वडाका अध्यक्ष सविन न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको हो । वडाध्यक्ष सविन न्यौपानेले वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको जानकारी दिनुभयो । बाल बचाऊ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता साथै यसका लागि संस्थागत विकासमा समेत गरेर ५१ वटा सूचक पूरा गरेको उहाँले बताउनुभयो । ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकमा १०० प्रतिशत १ वटा सूचकमा ९६ प्रतिशत र १ वटा सूचकमा ९० प्रतिशत, १ वटा सूचकमा ८५ प्रतिशत र १ वटा सूचकमा ८२ प्रतिशत सूचक हासिल गरेको वडाध्यक्ष न्यौपानले बताउनुभयो । १ नम्बर वडा पूर्ण खोपयुक्त वडा घोषणा, पूर्ण साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको छ ।

घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार वडामा १८ वर्ष भन्दा कम उमेरका १ हजार ४५ बालक र ९ सय ६९ बालिका गरी २ हजार १४ बालबालिका छन् । वडामा ५ सामुदायिक र १ संस्थागत बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । १८ वटा बालसमूहहरु र १ बाल सञ्जाल छन् । जसमा ३ सय ६३ जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरेर ४ सय ४ जना बालबालिका प्रत्यक्ष सहभागिता रहेको उहाँको भनाई छ । वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूह, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् ।

मेयर लामाले २०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा उपमेयर राजेश बानियाँ, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियोे ।