हेटौंडाः बजेट विनियोजनको सन्दर्भमा योजना बनाएर अगाडि बढ्न लागिएको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले बताउनुभएको छ । वडाध्यक्ष तिवारीले आफू वडाध्यक्ष निर्वाचित भएपछि वडामा बजेटको योजना नभएकाले पनि योजनासहित अगाडि बढ्ने बताउनुभयो ।
१२ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गर्न लागेको प्रथम संस्करणको वडाध्यक्ष कप उपमहानगरपालिकास्तरीय भलिबल प्रतियोगिताबारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्नुहुँदै वडाध्यक्ष तिवारीले भलिबल एउटा राम्रो खेल भएका कारण योजना बनाएर वडाका युवालाई खेलमा जोडेर अगाडि बढ्ने बताउनुभयो ।
सितोरियो कराँते, तेक्वान्दो, भलिबल, फुटबललगायतका खेलहरुका लागि छुट्टा छुट्टै बजेट छुट्याउने उहाँले बताउनुभयो । अन्य खेलहरु जोखिमपूर्ण भएका कारण भलिबल खेलको पनि वडामा प्रवद्र्धन गर्ने विश्वास दिलाउनुभयो । भलिबल, फुटबललगायतका खेलको अभ्यास र प्रतियोगितालाई निरन्तरता दिन प्रयास गर्दै खेलमार्फत् नमूना वडाको रुपमा चिनाउन पछि नपर्ने उहाँले बताउनुभयो ।
बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता संयोजक मनोज लामाले माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । हालसम्म प्रतियोगितामा सहभागी हुनका लागि ६ वटा टिमहरु सम्पर्कमा आएको उहाँले बताउनुभयो । प्रतियोगितामा ८ वटाभन्दा कम टिम भएमा समय थप गरेर पछि फरक ढंगबाट आयोजना गरिने उहाँले बताउनुभयो ।
‘खेलकुद र खेलाडीको सम्मानः १२ नम्बर वडाको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पहिलो संस्करणको वडाध्यक्ष कप उपमहानगरस्तरीय भलिबल प्रतियोगितामा आफूहरुले अनुमान गरेअनुरुप नै टिमहरुको सहभागिता रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रतियोगितामा सहभागी हुन हेटौंडाको १९ वटै वडामा पुगेको उहाँले बताउनुभयो । भलिबल राष्ट्रिय खेलको रुपमा पहिचान भए पनि खेलाडीको कमी भएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष कप भलिबल प्रतियोगिताका लागि १ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट डिफेन्ड, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रथम पुरस्कार राशि हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने भएको छ । पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईंको पनि उपस्थिति रहेको थियो ।