Home अन्तरवार्ता ‘प्रक्रियाहरु पूरा गरेर जग्गाधनी पुर्जा वितरण गर्छौं’

‘प्रक्रियाहरु पूरा गरेर जग्गाधनी पुर्जा वितरण गर्छौं’

बलराम बल अध्यक्ष, भूमि समस्या समाधान आयोग मकवानपुर

जमिनको स्वामित्व ग्रहण गर्ने, एउटा छानो छाउने आम नागरिकको सपना हुन्छ । नागरिकले जमिनमा लामो समयदेखि भोगचलन गर्दै आए पनि जमिनमाथिको स्वामित्वको पुर्जा प्राप्त नहुँदा आम नागरिक पीडित बन्नु परेको छ । आर्थिक अवस्था सवल भएका व्यक्तिको हकमा लाखौं, करोडौं खर्चेर जमिनको स्वामित्व ग्रहण गर्ने गरेका पनि छन् । तर, जमिनको भोगचलन गर्दै आएका तर स्वामित्व ग्रहण गर्न नपाएकाहरुको हकमा उनीहरुको समस्या समाधान गर्ने र जग्गाधनी पुर्जा वितरण गर्ने गरी संघीय सरकारले ‘भूमि समस्या समाधान आयोग’ को जिल्ला समितिमा अध्यक्ष नियुक्त गरेको छ । सोही क्रममा मकवानपुरमा बलराम बल आयोगको अध्यक्ष नियुक्त हुनुभएको छ । आयोगको नवनियुक्त अध्यक्षसँग भूमिसम्बन्धी समस्या समाधानको विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी :

समाज : भूमि समस्या समाधान आयोगको काम के हो ?
बल :
भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरु लाखौंको संख्यामा छन् । उनीहरुलाई व्यवस्थित गरेर जग्गाधनी प्रमाणपत्रको पुर्जा दिएर मालिक बनाउने काम हो । अहिले हाम्रो आयोग ३ वटा काममा केन्द्रित छ ।

समाज : त्यो ३ वटा मुख्य मुख्य काम के रहन्छ ?
बल :
सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउनु हाम्रो मुख्य काम हो ।

समाज : अध्यक्ष भएर जिम्मेवारी लिँदा कसरी काम गर्ने योजना बनाउनुभएको छ ?
बल :
विगतमा काम गर्न कानुनले प्रतिबन्ध लगाएको स्थिति थियो । तर, अहिले केही कानुनी समस्या हल भएका छन् । हामी ३ तहले कुन–कुन काम गर्ने भन्ने विषयमा छलफल गरेर निर्धारण गर्छौं । तहगतरुपमा कुन–कुन काम गर्ने भनेर निर्धारण गर्छौं । छलफलबाट समस्याहरुलाई न्यूनीकरणको काम छिट्टै अगाडि बढाउँछौं । पूर्वआयोगको कामको निरन्तरता पनि भनिएको हुनाले पुर्जा दिनका तयारी रहेको अवस्था छ । सोही अनुसार एकदेखि डेढ महिनाको अवधिमा भूमिहीनहरुलाई पुर्जा वितरण गर्छौं । अहिले संख्यामा गणना गर्दा हामीसँग २५ हजारको हाराहारीमा भूमिहीन सुकुम्बासी छन् । केही भूमिहीनहरुले १० वर्ष अगाडिदेखि जग्गा भोगचलन गरेको देखिन्छ । सोही अनुसार जो जहाँको हो हामीले दर्ता गर्दिन्छौं ।

समाज : भूमिहीनहरुलाई लालपुर्जा वितरण प्रक्रिया कस्तो हुन्छ ?
बल :
प्राविधिक पक्षहरुको सिफारिस, सर्जिमिन, फिल्डबुक, वडाको सिफारिस, पालिकाको सिफारिसलगायतका कागजातका आधारमा आयोगले स्थलगत अवलोकन गरी प्रक्रियाहरु पूरा गरेर जग्गाधनी पुर्जा वितरण गर्छ ।

समाज : भूमि भोगचलन गर्दै आइरहेको तर लालपुर्जा प्राप्त नभएको देशैभरीको समस्या हो । मकवानपुरको सन्दर्भमा तपाईंले जिम्मेवारी प्राप्त गर्नु भएको छ । यो विषयमा तपाईंले कति अध्ययन गर्नु भएको छ ?
समाज :
उहाँहरुले भोगचलन गर्दै आउनु भएको जग्गाको जति क्षेत्रफल छ त्यो क्षेत्रफलको पनि निश्चित मापदण्ड छ । कतिदेखि कति निःशुल्क गर्ने, कतिलाई सःशुल्क गर्ने अथवा सरकारले मूल्य लिएर लालपुर्जा दिने प्रक्रिया छ । अब यता भूमिहीन सुकुम्बासी सानो संख्यामा हुनाले कार्यविधिभित्र छ ।

समाज : तपाईंको बुझाइमा भूमिहीन नागरिकहरुलाई छिट्टै नै लालपुर्जा वितरण गर्न सकिन्छ ?
बल :
हजुर, सोचे अनुुसार काम भयो भने लालपुर्जा वितरण गर्छौं ।

समाज : छिटोमा कति समयभित्र लालपुर्जा वितरण गर्न सक्छौं ?
बल :
त्यो प्रकृति हेरेर हुन्छ । तर जतिसक्दो छिटो र सहज तरिकाले काम गर्ने योजना छ । एउटा उत्साहजनक ढङ्गले प्रवेश गरेको छु । ढिलो गर्ने समय छैन, किनभने नागरिकहरुले धेरै दुःख पाइसके । अब यो पटक परिणाममा पु¥याउने योजना छ ।

समाज : तपाइँ सत्तारुढ दलको नेताको रुपमा आयोगको जिम्मेवारी पाउनुभएको छ । यस हिसाबले सरकारमा रहेका मान्छेका आसेपासेले मात्र लालपुर्जा प्राप्त गर्छन् भन्ने खालको व्याख्या भइरहेको छ । त्यो आशंका पनि रहन्छ । त्यस्तो हुँदैन भन्ने तपाईं कसरी विश्वस्त पार्नु हुन्छ ?
बल :
विगतको कामहरुले पनि जनतालाई आतङ्कित बनाएको छ । त्यस्तो अभ्यास अहिले हुँदैन । अहिले प्रारम्भिक चरणमा नै विगतका आयोगका अध्यक्ष, पदाधिकारीहरुको छलफलबाट एउटा निश्कर्ष तयार पार्छौं र त्यसपछि जनताले भोगिरहेको उत्पीडनलाई मिलेर समाधान गर्छौं ।

Exit mobile version