हेटौंडाः गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा हेटौंडामा खबरदारी र्याली सम्पन्न भएको छ । गरिब राष्ट्रहरुको न्यायको पक्षमा ध्यान दिन धनी राष्ट्रहरुलाई खबरदारी गर्ने उद्देश्यले र्याली गरिएको हो ।
जनवरी २० देखि २४ सम्म स्वीट्जरल्याण्डको डाभोसमा भइरहेको ४० भन्दा बढी विकसित राष्ट्रहरु संलग्न विश्व आर्थिक मञ्चको ५५ औं वार्षिक सम्मेलनमा गरिब तथा विकासोन्मुख राष्ट्रहरुको न्यायको पक्षमा ध्यान दिन दवाव सृजना गर्न ¥याली आयोजना गरिएको गैसस महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले बताउनुभयो । विकसित राष्ट्रका गतिविधिका कारण निम्तिएको विनाश र जलवायु परिवर्तनका कारण विकासशील राष्ट्रहरुमा नकारात्मक असर परेको उहाँको भनाइ छ ।
विकासशील देशहरुलाई परेको असरको न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मजदुरहरुलाई आधारभूत आवश्यकता पूरा गर्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, जलवायु संकट समाधान गर्नुपर्ने, युद्ध र सैनिकीकरणमा हैन समावेशी समृद्धि र शान्तिका लागि लगानी गर्नुपर्ने माग गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, न्यायपूर्ण सम्पत्ति कर लागू गर्नुपर्नेलगायत माग रहेको उहाँले बताउनुभयो ।
गैसस महासंघ नेपालका केन्द्रीय सचिव बुद्धशरण लामाले धनी राष्ट्रहरुले गरेका विकास निर्माण र यान्त्रिकीकरणका कारण निम्तिएका विपद्को क्षतिपूर्ति उनीहरुले नै व्यहोर्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवनकुमार भट्टले धनी राष्ट्रहरुले विकासशील राष्ट्रहरुलाई दिने सहयोग वा अनुदान दयामाया हैन अधिकार वा क्षतिपूर्तिको रुपमा हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
दवाव ¥यालीले विभिन्न मागसहितको नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरी बुद्धचोकमा कोणसभा गरिएको थियो । कार्यक्रममा जनजाति महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, राष्ट्रिय अपांग महासंघ, नेपाल पत्रकार महासंघ, मजदर संगठन, नेपाल बार एसोसिएसनलगायत मानव अधिकारवादी संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले गर्नुभएको थियो ।