अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ । फाइल तस्वीर ।

हेटौंडा ः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । गत भदौ ३० गते अभिभावक भेला सम्पन्न गरेको विद्यालयले अझै व्यवस्थापन समितिलाई पूर्णता दिन नसकेको हो । व्यवस्थापन समितिमा अभिभावकतर्फबाट प्रतिनिधित्व गर्ने आकांक्षीको संख्या धेरै हुँदा अभिभावक प्रतिनिधि चयन गर्न नै गाह्रो भएको थियो ।

विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठका अनुसार अभिभावकबाट ४ जना छनोट गर्नुपर्नेमा २५ जना आकांक्षी थिए । २५ जना आकांक्षी मध्ये राजकुमार मैनाली, नवराज बलामी, राधा ओझा र आशामाया वाईबालाई पुस १८ गते व्यवस्थापन समितिको सदस्यमा सर्वसम्मत चयन गरेको थियो । शिक्षाप्रेमी, चन्दादाता, बुद्धिजीवी, समाजसेवी १ जना महिलासहित २ जना मनोनित गर्नुपर्ने व्यवस्था छ । २ जना छनोट गर्नुपर्नेमा ६ जना आकांक्षी भएपछि समस्या भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । २ जना सदस्य मनोनित गर्न नसक्दा व्यवस्थापन समितिलाई पूर्णता दिन नसकेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनमै २ जना सदस्य मनोनित गरेर व्यवस्थापन समितिलाई पूर्णता दिने उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरी अभिभावक भेलाका लागि हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट अधिकृत हरिचन्द्र सापकोटा प्रतिनिधि रहनुभएको छ । यसअघिको विद्यालय व्यवस्थापन समितिको कार्यकाल २०८० साल चैत १३ गते सकिएको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९ सय ८९ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन भइरहेको छ । शिक्षक दरबन्दी कम र निजी स्रोतका शिक्षक र कर्मचारी बढी हुँदा आर्थिक भार बढी रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालय बस सञ्चालनमा समस्या रहेको उहाँको भनाई छ । बस सञ्चालनका लागि ईन्धनमा मात्रै मासिक ७० हजार रुपैयाँ खर्च हुने गरेको र विद्यार्थीबाट पैसा उठ्न मुस्किल पर्दा बस सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । बस सेवा लिने विद्यार्थीबाट विद्यालयले मासिक ५ सय रुपैयाँ बसभाडा लिने गरेको पनि बस सञ्चालन खर्च व्यवस्थापन हुन सकेको छैन ।