हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा एसईई अभ्यास परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः संस्थागत विद्यालयमा आज आइतबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) अभ्यास परीक्षा सुरु हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय परीक्षा तालिकाअनुसार मकवानपुरसहित देशभरका संस्थागत विद्यालयमा अभ्यास परीक्षा सुरु भएको हो ।

परीक्षामा मकवानपुर जिल्लाका ३८ वटा संस्थागत विद्यालयका एक हजार ३ सय १३ विद्यार्थी सहभागी हुने प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो । एसईई मापदण्डअनुसार सञ्चालन गरिने परीक्षामा बागमती प्रदेशमा एउटै प्रश्नपत्र रहेको सुवेदीले जानकारी दिनुभयो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । मकवानपुरमा ९ वटा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो । हेटौंडामा ६ वटा, थाहा नगरपालिकामा २ वटा र मनहरी गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

हेटौंडा–२ स्थित बालजागृति सेकेन्डरी बोर्डिङ स्कूल, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल बोर्डिङ स्कूल, हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदन बोर्डिङ स्कूल, हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमी र हेटौंडा–९ स्थित श्रीकृष्ण आदर्श बोर्डिङ स्कूलमा परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकामा ईअन बोर्डिङ स्कूल र पालुङ बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै, मनहरीमा रेड एन्जल स्कूलमा परीक्षा केन्द्र तोकिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत ७ गतेबाट एसईई परीक्षा सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेसँगै एसईई अभ्यास परीक्षा सञ्चालन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । परीक्षा माघ १५ गतेसम्म सञ्चालन हुनेछ । एसईईका लागि विद्यार्थीको तयारी मूल्यांकन गर्न र एसईईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले देशभर एसईई अभ्यास परीक्षा सुरु गरिएको उहाँको भनाइ छ ।