हेटौंडाः नेपाल जग्गा तथा आवास विकास महासंघले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शुक्रबार घरजग्गा संघ मकवानपुरको व्यवस्थापनमा जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) को सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो ।
अन्तरक्रिया तथा छलफल कार्यक्रमकै अवसर पारेर जग्गा तथा आवास विकास महासंघले मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरका अध्यक्षसहितको पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । यस्तै, संघका् आजीवन सदस्यहरुलाई पनि सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख बनियाँले व्यापार व्यवसायीको संरक्षण गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा भएका कारणले यसको संरक्षण गर्न नसके प्रदेशको राजधानी नामको मात्र हुने उहाँले धारणा राख्नुभयो । आफू पनि व्यावसायिक क्षेत्रमा आवद्ध भएका कारण बढी व्यापार भएको अवस्थामा छापा मार्ने अवस्था पनि सिर्जना हुने गरेको उहाँले बताउनुभयो । संघीय सरकारको काम राम्रो नीति बनाउने र स्थानीयको सेवा प्रदान गर्ने काम रहेको उहाँले बताउनुभयो । कानुन भएता पनि मुखको मात्र कानुन भएका कारण समस्याको समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका धेरै वडाध्यक्षहरु घरजग्गाको व्यवसायमा आवद्ध रहेको उहाँले बताउनुभयो । उद्योगले निजी क्षेत्रलाई समेट्न आवश्यक रहेको उहाँको भनाइ छ । स्वास्थ्यका लागि पूर्वाधार राम्रो बन्दै गएकाले बस्ती विकासका लागि बलियो सम्भावना रहेको उहाँको धारणा छ । स्थानीय तहबाट आफूले गर्नुपर्ने सिफारिसको कार्यबाट पछि नपर्ने उहाँले बताउनुभयो ।
पत्रकार महासंघका प्रदेश अध्यक्ष कृष्ण सारु मगरले बैंकको ब्याजदरको विषयमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले नीतिगत काममा सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, नेपाल जेसीज वर्ष २०२५ का महासचिव विकेशलाल श्रेष्ठ, जग्गा व्यवसायी संघका जिल्ला उपाध्यक्ष पवन तिमल्सिनालगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।