हेटौंडाः गायिका आस्था राउतको सांगीतिक प्रस्तुतिमा दर्शक रमाएका छन् । शुक्रबार हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा भएको गायिका आस्था राउतले गाएको १२ वटा गीतमा हेटौंडाका दर्शक रमाएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीले हेटौंडाको नगरस्तरीय युवा सञ्जालसँगको समन्वयमा गायिका राउतको सांगीतिक प्रस्तुति आयोजना गरेको थियो । गायिका राउतले अल्ला हो अकबर, चौबन्धीमा पटुकी, झुम्के बुलाकी, माया यो मायालगायत अन्य गीत गाउनुभएको थियो । राउतको सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकहरु रमाउँदै नाचेका थिए । सांगीतिक कार्यक्रमलाई साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेल र बिहानी पङ्गेनीले सहजीकरण गर्नुभएको थियो ।
‘अभिभावकविहीन छात्राहरुमा लगानी, सुनिश्चत भविष्यका लागि महिला सशक्तिकरणको थालनी’ भन्ने मूल नाराका साथ गायिका राउतको लाइभ सांगीतिक कार्यक्रम आयोजना गरिएको स्ववियु हेटौंडा क्याम्पस कमिटी अध्यक्ष अभि मैनालीले जानकारी दिनुभएको छ । गरिब तथा विपन्न वर्गका छात्राको शिक्षामा सहयोग गर्नका लागि आयोजना गरिएको सांगीतिक कार्यक्रममा दर्शकहरुले उत्साह देखाएकोमा गायिका राउतले खुशी व्यक्त गर्नुभएको छ । १० वटा सांगीतिक प्रस्तुति गर्न तयार हुनुभएकी राउतले सबैको उत्साहका कारण थप २ वटा गीत प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रमबाट हुने बचतबाट अभिभावक नभएका छात्राहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष निर्माण गरिने आयोजकको भनाइ छ । टिकट खरिद गरेर सहयोग पु¥याएकोमा स्ववियु अध्यक्ष मैनालीले दर्शकलाई कृतज्ञता व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरपालिका तथा अन्य संघसंस्थाको सहयोग रहेको सांगीतिक प्रस्तुति हेर्नका लागि दर्शकहरुलाई २ सय ५० रुपैयाँको प्रवेश टिकट राखिएको थियो ।