हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बालमैत्री वडा घोषणा हुने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ यही माघ ५ गते हेटौंडा–५ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको हो ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त वडा घोषणा गर्न लागेको वडा सदस्य ज्ञानु थापाले जानकारी दिनुभएको छ । पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रम आयोजना गरेर नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा वडालाई बालमैत्री घोषणा गर्ने तयारी पूरा भएको उहाँले बताउनुभयो ।
पूर्णखोप वडा घोषणा, पूर्वसाक्षर वडा घोषणा, खुला दिशामुक्त वडा घोषणा भइसकेको ५ नम्बर वडालाई नेपाल सरकारको मापदण्डको आधारमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको उहाँले बताउनुभयो । बाल बचाउ, बाल संरक्षण, वाल विकास, बाल सहभागिता गरी बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ४७ वटा सूचकहरु शतप्रतिशत र बाँकीं ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गरेको वडा सदस्य थापाले जानकारी दिनुभयो ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार २ हजार ८ सय ७५ घरधुरी रहेको ५ नम्बर वडाको कुल जनसंख्या १४ हजार १२७ छ । वडामा ७ हजार ९८ महिला र ७ हजार २९ पुरुष रहेका छन् । ३ हजार ७९८ बालबालिका रहेको वडामा २ हजार १६ बालक र १ हजार ७८२ बालिका रहेको वडा सदस्य थापाले जानकारी दिनुभयो । वडामा बालविकास केन्द्रसमेत सामुदायिक र संस्थागत ९ वटा विद्यालयहरु सञ्चालनमा रहेको उहाँले बताउनुभयो । वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूहलगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको उहाँले बताउनुभयो । बालमैत्री वडा घोषणाका लागि १ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याइएको उहाँले बताउनुभयो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शनअनुसार २०७९ भाद्र २४ गतेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेपछि २०७९ मंसिर १५ गते सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण र प्रतिबद्धता गर्दै बालमैत्री घोषणा अभियानलाई सफल पार्न प्रत्येक विद्यालय र टोल समुदायमा सचेतनामूूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । सूचक प्राप्तिका लागि सरोकारवाला निकायसँग पटक–पटक अन्तरक्रिया र समीक्षा गरी जिल्लास्तरीय अनुगमन टोलीबाट समेत अनुगमन भइसकेको छ । बालमैत्री स्थानीय शासन दिगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थितिपत्र २०८१ र पञ्चवर्षीय रणनीतिक योजना तयार भएको उहाँले बताउनुभयो ।