हेटौंडा: बागमती प्रदेशमा डोजरे विकासले विपद्का घटना बढेको बताइएको छ । प्रदेशका स्थानीय तहका प्रतिनिधिहरुले डोजरे विकासले समस्या भएको बताएका हुन् ।
बागमती प्रदेश समन्वय परिषद्को बैठकमा सहभागी स्थानीय तहका प्रतिनिधिहरुले असन्तुलित विकासको कामले प्राकृतिक विपत्तिलाई बढाइरहेको बताए । अस्वभाविकरुपमा भएका सडक पूर्वाधार निर्माण, प्लटिङका कामले समस्या बनाएको उनीहरुको भनाइ छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले प्राकृतिक स्रोतहरुको दोहन बढ्दा विपद्जन्य घटनाहरु बढेको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन र प्रयोगको विधि अपनाउन नसक्दा प्रदेशमा विपद्को घटनामा क्षति बढेको बताउनुभयो । स्थानीय तहमा योजनावद्धरुपमा विकास आयोजनाहरु सञ्चालन नहुँदा विपद्का घटना बढेको उहाँको भनाइ छ ।
‘डोजरे विकास बढी भयो । अस्वभाविकरुपमा उत्खनन् र पूर्वाधार निर्माणलाई रोक्नुपर्छ’, गौतमले भन्नुभयो– ‘राजस्व संकलनको नाममा भएको प्राकृतिक स्रोतको दोहन भइरहेको छ ।’ प्राकृतिक स्रोतको दुरुपयोगसमेत चरम स्थानमा पुगेको उहाँको भनाइ छ । प्राकृतिक स्रोतको उचित प्रयोग र व्यवस्थापन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जलवायु परिवर्तनको प्रभावको बारेमा ध्यान जान सकेन । नागरिकहरुले निर्माण गरेका संरचनाहरु समेत मापदण्ड अनुसार हुन सकेको छैन’, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले भन्नुभयो– ‘भौगोलिक अवस्थाअनुसार निर्धारित मापदण्डको पूर्वाधार निर्माणमा जोड दिन जरुरी छ ।’
उहाँका अनुसार विपद् प्रतिकार्यका लागि वडास्तरमा नै डिजास्टर फोर्स निर्माण गरेर काम गर्नुपर्छ । विपद् जोखिम मूल्यांकन र सो अनुसार प्रविधि निर्माण गरेर नागरिक तथा संरचनालाई अलर्ट राख्न जरुरी रहेको उहाँको भनाइ छ । नागरिकको मागअनुसार विपद् प्रभावित क्षेत्रको पुनःनिर्माणको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले डोजर आतङ्कले प्राकृतिक विपत्तिलाई बढाएको बताउनुभयो । उहाँले प्राकृतिसँग जुध्ने सामथ्र्य नरहेको बताउनुभयो । विपद्का कारण नागरिकको जीवनदेखि भौतिक संरचनामा समेत क्षति पुगेको उहाँको भनाइ छ । उहाँले विनाशरहित तबरले विकासका काम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आधारभूत आवश्यकता र मौलिक हकका क्षेत्रलाई प्राथमिकीकरण गरेर विपद् प्रभावित आयोजनाको पुनःनिर्माणको काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीले निर्वाचनको समयमा गरेको प्रतिबद्धताका लागि मात्र भए पनि डोजर गाउँमा र्पुयाउनुपर्ने अवस्था रहेको बताउनुभयो । निर्वाचनको समयमा नागरिकलाई सडक पूर्वाधार र्पुयाउँछु भनेर गरेको प्रतिबद्धताको बिचमा डोजरे विकासको विकल्प नरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले अव्यवस्थित बसोबासका कारण विपद्जन्य घटनाहरु बढेको बताउनुभयो । गाउँ खाली गरेर सहरमा बसाई सर्ने प्रवृत्तिले प्राकृतिक स्रोतको सन्तुलित प्रयोग हुन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार तीन तहका सरकारले अर्बौ खर्च गरेर सिमित नागरिकको लागि सडक पूर्वाधारसहित अन्य विकास आयोजना सञ्चालन गर्नुभन्दा एकीकृत बस्ती विकासको योजनामा काम गर्नुपर्छ । विपद् जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्न नसक्दा क्षति बढिरहेको उहाँले बताउनुभयो । विपद् प्रभावित क्षेत्रको बस्तीलाई स्थानान्तरण गर्दा सरकारको विकास खर्च समेत व्यवस्थापन र प्रभावकारी हुने उहाँले बताउनुभयो । विपद् व्यवस्थापनको दीर्घकालीन समाधानको उपाय अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।
बैठकमा रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले विपद् प्रभावित पूर्वाधारको पुनःनिर्माण चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिकको अवस्था कमजोर बनिरहँदासमेत व्यवस्थापनको काम गर्न कठिन भएको बताउनुभयो । विपद्का घटना न्यूनीकरणका लागि बायो इन्जिनियरिङ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।