हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहीबारबाट गाउँपालिकाको वडा नम्बर–२ स्थित कुर्लेदमार रंगशालामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
आज शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पालिका खेलकुद विकास समितिका अध्यक्ष हीराबहादुर स्याङ्तानको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको हो । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयबाट विद्यार्थीको सहभागिता रहेको छ ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका–१ को रानीशेरा माध्यमिक विद्यालय, वडा नम्बर २ को चण्डिका माध्यमिक विद्यालय र वंशगोपाल माध्यमिक विद्यालय, वडा–३ को भानु माध्यमिक विद्यालय, वडा–४ स्थित मनकामना माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शारदा माध्यमिक विद्यालय, वडा–६ को जालपादेवी माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय एवम् वडा नम्बर ८ स्थित रुपनारायण माध्यमिक विद्यालयका करिब ३ सय जना विद्यार्थी सहभागी भएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, ज्याभलिङ थ्रोलगायतका खेलहरु सञ्चालन भएको खेलकुद विकास समितिका अध्यक्ष स्याङ्तानले बताउनुभयो । प्रतियोगितामा कक्षा–६ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्रतियोगिताका प्रत्येक खेलमा प्रथम र द्वितीय हुने खेलाडी तथा टिमलाई जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । प्रत्येक खेलमा छुट्टा–छुट्टै प्रशिक्षकको व्यवस्था मिलाएर २ दिन प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।
गएको वर्षको प्रतियोगिताको उपाधि शारदा माविले जितेको थियो भने भानु मावि उपविजेता बनेको थियो । रुपनारायण मावि तेस्रो भएको थियो । प्रतियोगिता आयोजना गर्नका लागि पालिकाले ३ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिता सहभागी खेलाडीको संख्यामा कमी आएको उहाँले बताउनुभयो । यस वर्ष कक्षा १० का विद्यार्थीले एसईई तयारी कक्षा र कक्षा ८ का विद्यार्थीले आधारभूत तह उत्तीर्ण परीक्षाको तयारी गरिरहेको र बजेटको अभाव भएका कारण खेलाडीको संख्या घटेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
गत वर्ष पालिकाको ३ लाख ५० हजार रुपैयाँ र संघीय बजेट १ लाख विनियोजन भएकोमा यस वर्ष संघीय बजेट कटौती गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ भने सम्पूर्ण खेलहरुबाट बढी पदक जितेर उपाधि विजेता बन्ने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ । यस्तै, दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि ट्रफी प्रदान गरिने बताइएको छ । पालिकास्तरीय प्रतियोगिता सहभागी भएका खेलाडीहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, ८ वटा वडाका वडा अध्यक्ष, जनप्रतिनिधिलगायत विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस वर्ष इन्द्रसरोवर गाउँपालिकामा सम्पन्न भएको प्रतियोगिताको उपाधि महाचुनी माध्यमिक विद्यालयले, थाहा नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले र मनहरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ ।