कार्यशालामा निर्माण गरिएका शैक्षिक सामग्रीको प्रदर्शनीमा सहभागी शिक्षकहरु ।

हेटौँडा ः मकवानपुरको बकैया गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी तीन दिवसीय कार्यशालाको आयोजना गरिएको छ । शुक्रबारबाट हेटौँडामा सुरु भएको कार्यशाला आइतबार समापन भएको छ । कार्यशालामा ३० जना शिक्षकको सहभागिता रहेको थियो ।

कार्यशालाको अन्तिम दिन आइतबार शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीको प्रस्तुती समेत गरिएको थियो । कार्यशालामा पवन अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । गुणस्तरीय र प्रभावकारी सिकाईका लागि इस्थर बेञ्जामिन स्मृति संस्थाले बकैया गाउँपालिकाका विद्यालयहरुमा शिक्षकको क्षमता विकास, विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री सहयोग गर्नुका साथै विद्यालयको भौतिक विकासमा समेत सहयोग गर्दै आएको छ ।

इस्थर बेञ्जामिन स्मृति संस्थाकी उपाध्यक्ष उमा तिमल्सिनाको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यशालाको समापन कार्यक्रम भएको थियो । कार्यशालाको समापन कार्यक्रममा बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङ, इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यकारी निर्देशक आत्माराम थापा, इस्थर बेञ्जामिन स्मृति संस्थाको मकवानपुर जिल्लाका कार्यक्रम व्यवस्थापक बुद्धवीर लामाको पनि उपस्थिति रहेको थियो ।