हाम्रो देश नेपाल विविधतायुक्त देश हो । भौगोलिक वनावटका कारण नेपालका विभिन्न क्षेत्रमा मौसम, हावापानी, जीवजन्तु र अन्य प्राकृतिक कुरा फरक–फरक किसिमका पाइन्छन् । भौगोलिक वा प्राकृतिक वातावरणमा मात्र नभएर नेपालीहरुको संस्कृति पनि धेरै प्रकारका छन् । विविध जाति, भाषा, धर्म, चाडपर्व, रहनसहन भएकै कारण नेपालमा सांस्कृतिक विविधता भएको हो । यही सांस्कृतिक विविधताको गतिलो उदाहरण माघ १ गते बन्दै आएको छ । हरेक वर्ष माघको पहिलो दिन वा माघे संक्रान्ति नेपालीहरुको बहुसांस्कृतिक पर्वको रुपमा परिचत बनिरहेको छ । आज माघे सक्रान्तिलाई नेपालका विभिन्न क्षेत्र, जाति तथा समुदायले फरक–फरक पर्वको रुपमा मनाउँदैछन् । यस दिनलाई थारु जातिले नयाँ वर्ष मानेर माघी पर्वको रुपमा मनाउँछन् । मगर जातिले मकर संक्रान्ति वा माघ्या/सेल्र्हेसको रुपमा यो पर्व धुमधामसँग मनाउने गर्दछन् । नेवारले यस पर्वलाई घ्यूचाकु सँल्हुको रुपमा मनाउँछन् भने तराईका मैथिलीले तिला संक्रान्ति पर्वका रुपमा मनाउँछन् ।
माघे संक्रान्ति नेपालको हिमाल, पहाड र तराई सबैतिर मनाइने गरिन्छ । छेत्री, बाहुन, थारु, मगर, राई, लिम्बु, नेवार, गुरुङलगायत सबै जातिले आ–आफ्नै किसिमले यो पर्व मनाउने गरेका छन् । यसै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुने मान्यता छ । उत्तरायणको अवधिमा दिन लामो हुँदै जाने र तापक्रम वृद्धि हुँदै जाने गर्दछ । माघे संक्रान्तिमा विशेष परिकार खाने प्रचलनले पनि यसको महत्व बढाएको छ । माघे संक्रान्तिमा तिलको विशेष महत्व छ । यस दिन तिलको होम र दान गर्नाले वा खानाले व्यक्ति सफल हुन्छ भन्ने धार्मिक विश्वास छ । माघे संक्रान्तिका दिन नदीको संगममा स्नान गरी दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त हुने जनविश्वास छ । धार्मिकमात्र होइन, वैज्ञानिक दृष्टिबाट पनि माघे संक्रान्ति महत्वपूर्ण मानिएको छ । आफ्नो शरीर सफा बनाउन स्नान गर्नेदेखि घिउ, चाकु, तिलको लड्डु र तरुल, सख्खरखण्ड, खिचडीजस्ता मौसमअनुकूल पोषक खाना खानु भनेको मानिस स्वस्थ रहन सहयोग पुग्नु हो ।
माघे संक्रान्तिका दिन देशका विभिन्न स्थानमा मेलासमेत लाग्ने गर्दछ । नेपालका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा माघे संक्रान्ति मेला लाग्दछ । चितवन र तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, गुल्मी र पाल्पाको रिडी, काभ्रेपलाञ्चोकको पनौती र दोललाघाट, दाङको रिहार र गोबरडिहा, झापाको कन्काइ, इलामको माइबेनी, हेटौंडाको कुश्माण्डधाम (त्रिवेणी)लगायत देशका सबैजसो भागमा यस दिन मेला लाग्दछ । यी स्थानमा रहेका पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा आराधना गर्दै दान गर्नाले पापबाट मुक्त भई पुण्य प्राप्त हुने विश्वास रहेको छ । यस दिन भारतको प्रयाग, हरिद्वार र गङ्गासागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको संख्या पनि उल्लेख्य रहने गरेको छ । माघे संक्रान्तिकै दिन नुवाकोटको तारुकामा गोरु जुधाउने मेलासमेत हुने गरेको छ ।
विभिन्न स्थान, जाति र समुदायमा फरक नामले चिनिने माघे संक्रान्ति पर्व धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिएको छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हालेर पकाइएको तिलको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरमा छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । विविधतामा एकता कायम रहेको नेपालमा एकै दिन पर्ने पर्वलाई अलग–अलग किसिमले मनाउँदा हाम्रो बुहसांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याएको छ । सबै नेपालीबीच भातृत्व र सहअस्तित्व कायम गर्न यस्ता बहुसांस्कृतिक पर्वले महत्वपूर्ण सहयोग गर्दछ । हरेक चाडपर्वको महत्वलाई उजागर गर्ने किसिमबाट संयमित, मर्यादित र किफायती किसिमबाट मनाउनु आवश्यक छ । यस्ता चाडपर्वलाई हरेक व्यक्ति र समुदायले हर्षोल्लाससाथ मनाउने अवस्था बनोस् । माघे संक्रान्तिको सबैलाई शुभकामना ।