हेटौंडाः नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको दिन आज हेटौंडास्थित सहिद स्मारकमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको छ ।

पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, सेवानिवृत्त शिक्षक देवप्रसाद श्रेष्ठ, पत्रकार प्रताप विष्ट, व्यवसायी नरेन्द्र भण्डारी, सहिद स्मारक विकास समितिका व्यवस्थापक एवम् हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपाने लगायतले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुका पुष्पगुच्छा अर्पण गर्नुभएको छ । पुष्पलालसँगै सहिद स्मारकको प्रजातान्त्रिक पार्कमा रहेका नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु विपि कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारीको सालिकमा पनि माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै मुख्यमन्त्री पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठले गर्नुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ । प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर राणाशाहि व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा पुष्पलालको जोड रहेको स्मरण गर्नुहुँदै आज देश अनेक विषमतालाई छिचोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुग्नुमा पुष्पलाल श्रेष्ठले सार्नु भएको विचारकै जगमा सम्भव भएको बताउनुभएको छ ।