हेटौँडाः स्थानीय उत्पादन बढेसँगै हेटौँडामा तरकारीको मूल्य घटेको छ । दुइ साता अघिसम्म वृद्धि भएको तरकारी अहिले ४० देखि ५० प्रतिशतसम्म घटेको छ । दुइ साताअघि थोक बजारमा प्रतिकिलो ४० रुपैयाँ रहेको काउलीको मूल्य मंगलबार प्रतिकिलो १० रुपैयाँ रहेको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।
दुई साताअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा अहिले ३५ रुपैयाँ, एक सय रुपैयाँको गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । रायोको साग प्रतिमुठा १० रुपैयाँ, प्रतिकिलो लौका ३० रुपैयाँ, बन्दा १५ रुपैयाँ, भण्टा ३० रुपैयाँ, भिडे खुर्सानी ८० रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, घरसिमी ४० रुपैयाँ, रहेको छ ।
स्थानीय तरकारीको भाउ घटे पनि भारतबाट आयात हुने तरकारीको भाउमा भने धेरै घटबढ भएको छैन । भारतबाट आयात हुने काँक्रोको प्रतिकिलो ८० रुपैयाँ, भिण्डी १५० रुपैयाँ, करेला १०० रुपैयाँ, पाते सिमी ६० रुपैयाँ, खुर्सानी ६० रुपैयाँ र पर्वल ९० रुपैयाँ थोक मूल्य रहेको छ । स्थानीय बजारमा मकवानपुरकै हाँडीखोलाबाट ७० प्रतिशत तरकारी आउने गरेको छ । साथै सुपिङ्ग, नामटार, पदमपोखरी, हटिया, हर्नामाडीलगायतका ठाउँमा पनि प्रशस्तै तरकारी उत्पादन रहेको छ ।