हेटौँडा ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने पनि दावी गर्नुभयो । ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले कांग्रेस माथि चौतर्फी घेराबन्दी रहेको बताउनुभयो ।
कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उहाँको भनाई थियो । उहाँले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दावी गर्नुहुँदै पटक–पटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । कांग्रेस अन्य दलहरुको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको उहाँले बताउनुभयो । राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भूमिका रहनुपर्ने महामन्त्री थापाको भनाई छ । दलहरुको कमजोरी र समस्याको भारी संविधान र व्यवस्थालाई बोकाउन नहुने जीकिर गर्नुहुँदै महामन्त्री थापाले व्यवस्थाको चिरस्थायीका लागि संविधानको अभ्यास अनुसार पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘संविधानको विधि, प्रक्रिया अनुसार सरकारले काम गरिरहे पनि देशभित्र उकुसमुकुस छ । अहिले नागरिकले विकास, समृद्धि र आथिक उपार्जनको माग छ । कांग्रेसले अब त्यो माग पूरा गर्नुपर्छ’, महामन्त्री थापाले भन्नुभयो, ‘संविधानमा रहेका कमिकमजोरी सच्याउने र व्यवहारमा ठिक ढंग अघि बढ्न संविधान संशोधन गर्नेगरी सत्ता साझेदार दलहरु बीच संयन्त्र निर्माण भएको छ । सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसँग संवाद गरेर संरचनागत एजेण्डामा छलफल गरिने छ ।’
उहाँका अनुसार विशेषगरी संविधानले व्यवस्था गरेका समावेशीता, संघीयता लगायतका व्यवस्थालाई खलल पु¥याउने विषयमा पुनरावलोकन गर्न कांग्रेस तयार छैन । कांग्रेसले निर्वाचन प्रणालीलाई सुदृढ गरी ४० प्रतिशत मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नेगरी छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । केही व्यक्तिले गरेको गलत क्रियाकलापको कारण नागरिकहरु माझ नैराश्यता बढेको उहाँले बताउनुभयो । एक व्यक्तिले गरेको गल्तीको दोष व्यवस्थालाई बोकाउनु गलत भएको उल्लेख गर्नुहुँदै कांग्रेस, एमाले र माओवादी बसेर सबै फाइलको लिस्ट तयार गरी खोल्ने काम गर्न महामन्त्री थापाले आग्रह गर्नुभयो । दोषी उम्कनु हुँदैन, निर्दोष फस्न हुँदैन भन्ने काँग्रेसको नीति रहेकाले राज्यले सबैलाई समान रुपमा व्यवहार गर्दै कानुन अनुसार संचालन हुनुपर्ने उहाँको भनाई छ ।
सहकारी ठगीमा कांग्रेसका कोहि नेता कार्यकर्ता जोडिए तत्काल पक्राउ गरी कानुन अनुसार कारवाही गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेसबाट आफू स्वयम् नै भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेमा पार्टीको झण्डा बोकेर सडकमा नआउन महामन्त्री थापाले आग्रह गर्नुभयो । ‘नागरिकलाई बलियो बनाउने सरकार शक्तिशाली हुन्छ । नागरिकका अपेक्षा अहिलेकै अवस्थामा पूरा हुन सक्दैन । नागरिकको आवश्यकता स्टन्टबाजीले पनि चल्दैन । सरकारले नागरिकलाई डेलिभरी दिने गरी केही कानुन संशोधन गर्ने तयारी छ । नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना छ । तर, लगानीको वातावरण बनाउन जरुरी छ । त्यसका लागि छिट्टै कानुन संशोधन गर्ने तयारी छ । नेपालमा काम गर्न सजिलो छ भन्ने वातावरण तयार गर्नुपर्छ’, थापाले भन्नुभयो ।
पार्टीको महाधिवेशन समयमा हुँदैन भन्ने विश्लेषण गर्न जरुरी नरहेको बताउनुहुँदै कांग्रेसले विगतमा प्रतिबन्धित कालमा पनि आफ्नो प्रक्रिया पूरा गरेको महामन्त्री थापाले जानकारी गराउनुभयो । पार्टीलाई सक्रिय र जिम्मेवार बनाउन आगामी दिनमा पनि महाधिवेशन समयमै हुनेमा ढुक्क हुन उहाँले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उहाँले आगामी निर्वाचनको समयमा कांग्रेसले परिणाम पत्र बोकेर नागरिक माझ जानुपर्ने बताउनुभयो । जिम्मेवारी र जवाफदेहीतासहित ३ वर्ष काम गरेर देश केही हुँदैछ भन्ने सन्देश दिन जरुरी रहेको उहाँले औँल्याउनुभएको छ ।