डार्ट गरेपछि बेहोस अवस्थाको नरभक्षी बाघ ।

हेटौँडा ः मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा एकजना वृद्धाको ज्यान लिनुका साथै पशुचौपाया समेत मारेको नरभक्षी बाघलाई मंगलबार साँझ निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको छ । स्थानीय ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार साँझ आक्रमण गरी मारेको बाघलाई करिब ४८ घण्टाको अवधिमा मंगलबार साँझ ६ बजेर १८ मिनेटको समयमा डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार बाघले मारेको बाख्रालाई नै पासो थापेर चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना, प्रहरी र स्थानीयको साथ, सहयोगमा नरभक्षी बाघ नियन्त्रणमा लिन सफल भएको जानकारी दिनुभयो । निकुञ्जका प्राविधिक टोलीका अनुसार ९ वर्षीया वयस्क पोथी बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले चार वटा हात्तीको प्रयोग गरेर नियन्त्रणमा लिइएको हो ।

बाघले आक्रमण गरेर मारेको बाख्रालाई नै पासोको रुपमा राखेर निकुञ्जको प्राविधिक टोलीले पासो राखिएको नजिकै बाँसको झाङमा मचान बनाएर बाघको प्रतिक्षा गरेको थियो । पासो बनाएर राखेको आफैँले मारेर छाडेको बाख्रा खान आएपछि प्राविधिक टोलीको पहिलो प्रयासमै बाघलाई डार्ट गर्न सफल भएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिने बताइएको छ ।

नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट एकजना पशु चिकित्सकसहित ४ जना, पर्सा राष्ट्रिय निकुञ्जबाट ७ जना, नेपाली सेनाका ९ जनासहित एउटा समूह २ दिनदेखि बाघ नियन्त्रणको प्रयासमा थियो ।

डार्ट गरेपछि बेहोस अवस्थाको नरभक्षी बाघ ।
बाघलाई डार्ट गर्न राखिएको पासो ।
नरभक्षी बाघलाई डार्ट गर्न बाँसको झाङमा मचान बनाउँदै ।
नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि निकुञ्जको टोलीले निकुञ्ज लैजान लाग्दा स्थानीयको भीड ।

फोटोहरु वडाध्यक्ष दीपेन्द्र अधिकारीको फेसबुक वालबाट लिइएको हो ।