राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः मनहरी गाउँपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ को उपधि मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ । मनहरी गाउँपालिकाले शनिबारबाट सोमबारसम्म आयोजना गरिएको विभिन्न विधाको प्रतियोगितामा ९ स्वर्ण, ८ रजत २ कास्य पदक हासिल गर्दै राष्ट्रिय माध्यमिक विद्यालयले उपधि हात पारेको हो ।

यस्तै मनहरी गाउँपालिका–१, मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण ७ रजत र ५ कास्य पदक हात पर्दै द्धितीय भएको मनहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । मनहरी गाउँपालिका–९, रजैयास्थित युवावर्ष गंगा आधारभूत विद्यालयले ५ स्वर्ण, ३ रजत र एक कास्य पदक हात पर्दै तृतीय हुन सफल भएको बताउनुभयो । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः राष्ट्रपति रनिङशिल्डसहित ५ हजार रुपैयाँ, शिल्ड, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पुरस्कार प्राप्त गरिएको बताउनुभयो ।

१९ वटा विद्यालयमध्ये ५ वटा विद्यालयले प्रतियोगितामा सहभागी नजनाएको जानकारी दिनुभयो । मनहरी–२, स्थित सिता माध्यमिक विद्यालय, मनहरी गाउँपालिका–८, स्थित युनाइटेड बोर्डिङ स्कुल, मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालय, मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित रेडएन्जल बोर्डिङ स्कुल र मनहरी गाउँपालिका–७, स्थित विलिभर्स बोर्डिङ स्कुल सहभागी नभएको बताउनुभयो ।