हेटौंडाः हेटौंडा–५,स्थित पिप्ले क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा ललितपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा धादिङको धुनिवेसी युथ समाजलाई ३–१ गोल अन्तरले ललितपुर फुटबल क्लबले पराजित गरेको छ ।
ललितपुरको जीतमा सुवित गुरुङले एक्लैले २ गोल प्रहार गरेका थिए । उनले खेलको २० औं मिनेटमा र ७८ मिनेटमा २ गोल पूरा गरेका थिए । ललितपुरकै अमृत चन्दले १ गोल गर्दै टिमलाई जीताएका हुन् । धादिङका सूर्य बहादुर गुरुङले मात्र एक गोल फर्काउन सफल भएका थिए । म्यान अफ द म्याच २ गोलकर्ता सुवित घोषित भएका छन् । ललितपुरले समूह चरणको दुई खेलमा धादिङ र मकवानपुुरको पदमपोखरी युथ क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा पूरा गरेको हो ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमु्ख सहयोगमा सञ्चालन भएको प्रतियोगितामा, प्रदेश खेलकुद विकास परिष्द बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहने छ । प्रतियोगिता अन्तर्गत बुधबार हुने सेमीफाइनल चरणको पहिलो खेलमा समूह ख बाट सिन्धुली जिल्लाको ब्लु अल्पान क्लब र दोलखाको टाइगर टिम तिखातालबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बिहिबार हुने अन्तिम सेमीफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लब र ललितपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।