हेटौँडाः बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पिछडिएका वर्गलाई राज्यको मुलधारमा ल्याउन वर्तमान व्यवस्थाले टेवा पु¥याएको बताउनुभएको छ । व्यवस्था परिवर्तनसँगै राज्यले किनारा पारेका सीमान्तकृत र जनजाति समुदायका मानिसहरु पनि राज्य सञ्चालनको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाको हाटबजार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले वर्तमान व्यवस्थाका कारण राक्सिराङ गाउँपालिकाबाटै सन्तबहादुर चेपाङ मन्त्री बन्ने अवसर आएको बताउनुभयो । पिछडिएको भूगोल, समुदाय तथा क्षेत्रको विकासको उत्थानका लागि बागमती प्रदेश सरकारले काम गर्ने उहाँको भनाई छ । आफू र आफू नेतृत्वमा रहेको मन्त्रालयले सदैव निम्न वर्गीय समुदायका नागरिकलाई केन्द्रमा राखेर काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय कृषि उत्पादन वृद्धि गरी आर्थिक अवस्था सुधार गर्न सके समृद्धिको यात्रा पुरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
राक्सिराङ–५, चैनपुरस्थित हाटबजार स्थलमा चालू आर्थिक वर्षको पहिलो हाट बजार शुुभारम्भ गरिएको हो । गाउँपालिकाले हरेक महिनाको १ र १५ गते महिनामा २ दिन संचालन गर्ने हाट बजार होटलहरुका लागि छुट्टै स्टल निर्माण गरिएको छ । गाउँपालिकामा उत्पादित मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूलहरु गिट्ठा, भ्याकुर, तरुल, बाँसबाट बनेका सामग्रीहरु हाटबजारमा बिक्रीका लागि राखिएका थिए । सो अवसरमा चेपाङ, तामाङ तथा अन्य समुदायले आफ्ना पहिचानसहितका लोक संगीत, संस्कृति र नृत्यहरु प्रस्तुत गरेका थिए ।