हेटौँडा : मकवानपुर महिला गोल्डकपमा आज आइतबार नेपाल पुलिस क्लवको महिला टोली र रौतहट जिल्ला महिला टिम बिच खेल हुनेछ । खेल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरिटार रंगशालामा दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट जारी सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लव र रौतहट जिल्ला महिला टिमबिच खेल हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा जित निकाल्दै संकटा फुटबल क्लब गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोल अन्तरले हराएको हो । संकटाका लागि ममता पुनले ह्याट्रिक सहित ५ गोल गरिन् भने जेनिफर राना मगरले थप १ गोल गरिन् । यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९ औं मिनेटमा एक सान्त्वना गोल फर्काइन् । खेलमा ५ गोल गरेकी संकटाकी ममता नै प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











