हेटौँडा ः गुरुङ राष्ट्रिय परिषद् मकवानपुरको आयोजनामा हेटौँडामा पनि तमु ल्होसार–२०८१ मनाएको छ । सोमबार गुरुङ समुदायले मुप्री ल्होलाई बिदाई गर्दै सप्री ल्होको आगमन गरेर ल्होसार मनाइएको हो ।
हेटौँडाको पर्यटकीयस्थल शहीद स्मारकमा भएको कार्यक्रममा उच्च शिक्षा हासिल गर्दै गरेका ५ विद्यार्थीलाई ८ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । मनहरी गाउँपालिका–८ की करिश्मा गुरुङ, थाहा नगरपालिका–५ का सुदीप गुरुङ, थाहा नगरपालिका–५ कै प्रेरणा गुरुङ, कैलाश गाउँपालिका–१ की विनुता गुरुङ र कैलाश–१ कै विना गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो । यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यसमिति सदस्यमा निर्वाचित हुन भएकी निशा गुरुङ, मानवशास्त्र विषयको दर्शानाचार्य परीक्षामा सर्वोत्तम श्रेणी हासिल गरेको भन्दै मनिराज गुरुङ, आयुर्वेद तथा वैकल्पिक अस्पतालमा कार्यरत रति कुमारी गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखा अधिकृत संगीता घले र समाजसेवी राजु गुरुङलाई सम्मान गरिएको छ ।
गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य जंगबहादुर गुरुङले मकवानपुर जिल्लामा मात्र १ हजार ५ सय १८ गुरुङ परिवार रहेको जानकारी दिनुभयो । जातिका आधारमा मकवानपुरमा गुरुङहरु सातौं स्थानमा रहेका छन् । जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवद्र्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आफ्नो भाषा, संस्कृतिसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । परिषद्का अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षता तथा हेटौंडा–३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा घाटु नाचसहित साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको थियो ।