बागले मारेको बाख्राको तस्वीर ।

हेटौँडा ः मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । आइतबार साँझ एक वृद्धलाई आक्रमण गरी मारेको बाघले सोमबार विहान पुनः ७ वटा बाख्रा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघले आक्रमण गर्दा विहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ बसन्तपुरका सूर्य बहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जंगलतर्फ लगेको प्रहरीले जनाएको छ । यसअघि बाघले मनहरी–५ बसन्तपुर वडा कार्यालय नजिकै ७२ वर्षीया कान्छिमाया रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट रुम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

बाघलाई नियन्त्रणमा लिनका २ वटा हात्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र सेनाको टोली तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटाइएको छ ।