हेटौँडाः आत्महत्याका घटना न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आत्महत्याका घटना न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना सम्बन्धी कार्यक्रम भएको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा आत्महत्याका घटना न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना सम्बन्धी अन्तरक्रियासहितको प्रस्तुतीकरण प्रहरी उपरीक्षक विश्वराज खड्काले गर्नु भएको थियो । आत्महत्याको बढ्दो दरलाई न्यूनिकरणका लागि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय बढी आत्महत्या हुने मुलुकहरुमा नेपाल ७ नम्बरमा रहेको र लैंगिक रुपमा पुरुषभन्दा महिलाले बढी आत्महत्या गर्ने गरेको तथ्यांकमा उल्लेख छ । महिलाहरुको आत्महत्या दर अनुसार महिलाहरुले आत्महत्या गर्ने तेस्रो स्थानको मुलुक हो नेपाल । हरेक ४० सेकण्डको अन्तरमा विश्वमा एक जनाले आत्महत्या गर्ने गरेका तथ्यांकले देखाउँछ । विशेषगरी २१ वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या भइरहेको सर्वेक्षणहरुको रिपोर्ट रहेको छ ।
आर्थिक, सामाजिक तथा मानसिक कारणले नेपालमा आत्महत्याको दर बढिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख आतिथिको भूमिकामा रहनुभएका उहाँले आत्महत्या चुनौतिको रुपमा देखिएको बताउनुभयो । मकवानपुरमा केही समययता आत्महत्याको दर कम भएपनि न्यूनीकरणमा अग्रसर हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयस्तरबाटै पाठ्यक्रममा समावेश गरेर आत्महत्या न्यूनीकारणको प्रयासहरुलाई अघि बढाउन जरुरी रहेको छ । मनोपरामर्शको क्षेत्रमा लगानी गरेर नागरिकहरु समक्ष परामर्श सेवालाई पुर्याउनुपर्ने उहाँको भनाई छ । सबै निकायहरुको समन्वयमा आत्महत्या न्यूनीकारण तथा व्यवस्थापनको क्षेत्रमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
पारिवारिक विचलन र आर्थिक तथा सामाजिक प्रतिष्ठाका कारण आत्महत्याका घटना भइरहेको उहाँले बताउनुभयो । मध्यम र गरिब परिवारका व्यक्तिहरुबाट आत्महत्याको प्रयास र घटना भइरहेको उहाँले बताए । आत्महत्या न्यूनिकारण तथा व्यवस्थापनका लागि योजना, रणनीति तथा कार्ययोजनासहित काम भइरहेको प्रमुख जिल्ला अधिकारी चिलवालले बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी गण नम्बर १४ हेडक्वाटरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान प्रसाद भुर्तेल, मनोचिकित्सक डा. उद्धव लामा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक ललिता पाण्डे, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ट, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायत विभिन्न सरोकारवाला संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।