द्वन्द्वपीडित शुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले निर्माण गरिदिएको घर हस्तान्तरणपछि दर्नालको साथमा मेयर हरिबहादुर महत र स्थानीयवासी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ की द्वन्द्वपीडित शुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले घर निर्माण गरिदिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र २०५२ सालदेखि एक दशकको सशस्त्र द्वन्द्वका बेला ४ छोरा गुमाएकी दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले घर निर्माण गरेर आज बिहान हस्तान्तरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले आज बिहान शुभद्रा दर्नाललाई शौचालयसहितको ४ कोठे घर हस्तान्तरण गर्नुभएको हो । उपमहानगरपालिकाले ११ लाख लागतमा घर निर्माण गरिदिएको हो । घर हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफू पदमा भए, नभए पनि शुभद्रा दर्नाललाई आजीवन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ घर पाउनुभएकी शुभद्रा दर्नालले आफ्ना ४ छोरा गुमे पनि उपमहानगरपालिकाका मेयरले छोराले जत्तिकै माया र सहयोग गरेको बताउनुभयो । निर्माण भएको घर हस्तान्तरण कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।