हेटौँडा ः बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबलमा सिन्धुपाल्चोक विजयी भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

यसअघि शनिबार भएको पहिलो खेलमा नुवाकोटको बट्टार युथ क्लब विजयी भएको थियो । बट्टार युथ क्लबले दोलखाको टाइगर टिमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बट्टार युथ क्लबका किसान साह म्यान अफ द म्याच घोषित भए ।

लिग–कम–नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः २ लाख र १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।