मोतिविन्दुको शल्यक्रिया गरिँदै । फाइल तस्वीर ।

हेटौँडा ः हेटौँडा सामुदायिक आँखा अस्पतालमा शनिबार १५० जनाको मोतिविन्दुको शल्यक्रिया भएको छ । मकवानपुरको कैलाश गाउँपालिका, बकैया गाउँपालिका र अन्य स्थानका गरी १५० जना मोतिविन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिकामा रहेको ग्रामीण आँखा केन्द्रले संचालन गरेको शिविरमा १६० जनाको आँखा परीक्षण गर्दा ५० जनामा मोतिविन्दु देखिएको थियो । केन्द्रले मंसीर २२ गते भाल्टारमा सञ्चालन गरेको शिविरमा हेटौँडा सामूदायिक आँखा अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखा परीक्षण गरेका थिए । पालिकामा मोतिविन्दु भएकाहरुलाई चरणवद्धरुपमा शल्यक्रिया गर्ने क्रममा अब १० जनाको मोतिविन्दुको शल्यक्रिया गर्न बाँकी रहेको छ ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकामा १४ जनामा मोतिविन्दु पुष्टि भएकोमा शनिबार १३ जनाको शल्यक्रिया भएको श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार हेटौँडा सामुदायिक आँखा अस्पताल, बकैया गाउँपालिका र बकैया सामुदायिक आँखा केन्द्रको सहकार्यमा बकैया अस्पतालमा भएको निःशुल्क शिविरमा १५० जनाको परीक्षण गरिएकोमा १४ जनामा मोतिविन्दु पुष्टि भएको थियो ।

यस्तै अन्य विभिन्न स्थानमा भएको शिविरबाट आएको १२७ जनाको पनि शल्यक्रिया गरिएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक आँखा अस्पतालले विभिन्न स्थानमा आयोजना गरेको आँखा शिविरमा सहकार्य गर्दै मोतिविन्दुका समस्या देखिएकाहरुको अस्पतालमा नै ल्याएर निःशुल्क शल्यक्रिया गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।