हेटौँडा ः नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीमा विद्यार्थी नेताका लागि उमेर हद कायम गर्ने नगर्ने भन्ने निश्चित गर्न मतदान हुँदैछ । आज देशैभर जिल्लामा मतदानको कार्यक्रम भइरहेको छ । मकवानपुर जिल्लामा पनि बिहान ११ बजेबाट मतदान सुरु भएको छ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा रहन ३२ वर्ष उमेर हद कामय गर्ने वा उमेर हद कायम नगरी खुला राख्ने भन्ने विषयमा मतदान भइरहेको छ । उमेर हद निश्चित नभएकै कारण गत असोज १० गते सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन । आज भइरहेको निर्वाचनले नै उमेर हद कायम गर्ने, नगर्ने निश्चित भएसँगै पुस १७ गते महाधिवेशनको बाँकी प्रक्रिया पूरा गर्नेछ ।
मतदानलगत्तै निर्वाचनको नतीजा आजै आउने अपेक्षा गरिएको छ । मकवानपुरमा ३८ जना मतदाता रहेको निर्वाचन समिति सदस्य राजकुमार केसीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा अहिले मतदान भइरहेको छ ।