रेवतिप्रसाद तिमल्सिना (नवीन)

हेटौंडाः मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन हुनुभएको छ । बिहीबार मकवानपुरगढी गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम दहाल अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सहसचिवमा भुवन घलान (सोमलाल) चयन हुनुभएको छ । यसैगरी, सदस्यहरूमा सञ्जीव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चौलागाईं चयन हुनुभएको छ । २०७७ पुसमा स्थापित मकवानपुरगढी पत्रकार समाजमा ४० जना पत्रकार आबद्ध रहेका छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारहरूको साझा संस्थाको रूपमा गठित यो समाज दोस्रो हो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा अधिवेशन भएको हो । अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, निवर्तमान अध्यक्ष विदुर हुमागाईं, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका वडाध्यक्ष बखान सिंह पाख्रिन, ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिमल्सिनालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको निर्वाचनमा निर्वाचित ८ जना समाजका सदस्यहरूलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरिएको छ । पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित हरि हुमागाईं, जिल्ला उपाध्यक्षमा निर्वाचित ध्रुव अधिकारी, सहसचिव शिव वियोगी चौलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम दहाल अर्जुन र सञ्जीव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन बिडारी र प्रदेश परिषद् सदस्यमा निर्वाचित बलराम पुडासैनीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन तथा निवर्तमान अध्यक्ष विदुर हुमागाईंलगायतले प्रमाणपत्रसहित खादा, टीका लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।