हेटौँडा ः बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धा मार्फत दरखास्त आव्हान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
समितिको सिफारिस अनुसार दखास्त परेको ७ जनाबाट ५ जनाको नाम संक्षिप्त सूचिमा तयार गरेर परीक्षा संचालन गरेको थियो भने गत पुस १ मा अन्तरवार्ता लिएर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।
प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुनुभएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुनुहुन्छ भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । मन्त्री लामिछानेका अनुसार सिफारिस समितिले लामासहित भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका–९ का बद्री प्रसाद दहाल र चितवन जिल्लाको भरतपुर–१० का इश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।