हेटौंडाः रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एकदिवसीय त्रिकोणात्मक क्रिकेट प्रतियोगिता सुरु भएको छ । सोमबार चन्द्रपुर–८ मा सुरु भएको प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको टिमले जित निकालेको छ ।
म्यानेजमेन्टले आयोजक रौतहटको टिमलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रौतहटले २६ ओभर ३ बलमा १ सय १५ रन बनाउँदै अल आउट हुन पुगेको थियो ।
रौतहटका लागि आशुतोषले ३३ बलमा २७ रन बनाएका थिए । विजय बलले ३ ओभरमा २४ रन बनाएका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका लागि साकार गजुरेलले ७ ओभरमा १ मेडेन ओभर खुवाउँदै २७ रन खर्चेर ३ विकेट लिएका थिए । टिम कप्तान सुमन सुनारले ७ ओभरमै २७ रन खर्चेर ३ विकेट लिएका थिए भने प्राञ्जल उपाध्यायले पनि ३ विकेट लिएका थिए । रामनरेश गिरीले १ विकेटमात्र लिन सफल भए ।
१ सय १५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २४ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । म्यानेजमेन्टको तर्फबाट बिना आउट सर्वाधिक ५३ रन बनाउन सफल भएका थिए । गौरब खड्काले २७ बलमा २४ रन र रामनरेश गिरीले ३० बलमा बिना आउट १० रन बनाएका थिए । रौतहटबाट राजेशले ६ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । रियाजले ३ ओभरमा १७ रन खर्चेर १ विकेटमात्र लिन सफल भएका थिए ।
म्यानेजमेन्टले आज बुधबार सर्लाही जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा ३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।