हेटौंडाः बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा हुने दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगितामा बागमती प्रदेशका ११ वटा जिल्लाको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र काभ्रेपलाञ्चोकबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश फुटबल संघको आयोजनामा हुन लागेको प्रदेश लिग फुटबल प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख सहयोग र हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को पनि सहयोग रहने प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले बताउनुभयो । ११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगितामा सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल यही पुस २० गते हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः २ लाख र एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।