हेटौँडा ः लक्ष्मी सनराइज बैंकको आयोजनामा सोमबार हेटौँडामा डिजिटल डिसेम्बर कार्यक्रमअन्तर्गत डिजिटल संवाद कार्यक्रमको आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता र वित्तीय कारोबारमा आधुनिक प्रविधिको प्रयोगको सन्दर्भमा सेवाग्राही र सरोकारवालाको सहभागितामा डिजिटल संवाद कार्यक्रमको आयोजना गरेको हो ।
लक्ष्मी सनराइजले ६ वर्षदेखि डिसेम्बर महिनामा डिजिटल डिसेम्बर कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले ग्रामीण क्षेत्र लक्षित गरेर वित्तीय साक्षरता अभियान सञ्चालक गर्दै आएको जानकारी दिँदै डिजिटल डिसेम्बर अभियान नै सञ्चालन गरिरहेको लक्ष्मी सनराइज बैंकको डिजिटल च्यानल अपरेशन विभागका प्रमुख सुमन प्रसाद गेलालले जानकारी दिनुभयो । हेटौँडामा उद्यमी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यालय सञ्चालकको सहभागितामा कार्यक्रम भएको हो । नेपाल राष्ट्र बैंकका प्रतिनिधिको समेत उपस्थिति रहेको कार्यक्रममा वित्तीय कारोबारमा पछिल्लो समय सूचना प्रविधिको प्रयोग र यसको प्रयोगका सकारात्मक पक्ष र चुनौतिका बारेमा जानकारी गराइएको थियो । डिजिटल प्रविधिको प्रयोगको विषयमा समेत संवाद गरिएको छ ।
इसेवाका सरोज भुर्तेलले डिजिटल माध्यमबाट आर्थिक कारोबारको व्यापक बन्दै गएको बताउनुभयो । पहिले क्यु आर प्रयोग गर्न, गराउन गाह्रो रहेको स्मरण गर्नुहुँदै अहिले क्यु आर कोड वितरण गरेर भ्याई–नभ्याई भइरहेको भुर्तेलले बताउनुभयो । जहाँ लाईन देखिन्छ त्यहाँ अनलाइन सेवा विस्तार गर्दै आएको उल्लेख गर्नुहुँदै भुर्तेलले भन्नुभयो, ‘हामी बिहान ८ बजेदेखि राती १२ बजेसम्म विद्युत महसुल तिर्ने व्यवस्था गरेका छौं । हामी २४सै घण्टा सेवा प्रवाह गर्न प्रस्ताव गरिरहेका छौं । सेवाग्राहीले पनि त्यस्तै अपेक्षा गरेका छन् तर, प्राधिकरणकै कारण २४ घण्टा सेवा दिन नसकेको हो ।’ सरकारी राजश्व भुक्तानीमा पनि डिजिटल पेमेन्टको अभ्यास धेरै भइरहेको भुर्तेलले बताउनुभयो । अनलाइनमार्फत भुक्तानीको अभ्यास विस्तार भएसँगै इसेवामार्फत हुने अभ्यासकै कारण कागज निर्माणका लागि खपत हुने दैनिक २३ वटा रुख जोगाइरहेको भुर्तेलले दावी गर्नुभयो ।
फोन पे सेवाका असिम कोइरालाले अनलाइनमार्फत हुने सेवाका कारण सेवाग्राहीले सार्वजनिक सेवा प्राप्तीमा सहजता भएको दावी गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारीले नेपालको बैंकिङ प्रणालीमा २ करोड ५७ लाख मोबाइलमार्फत भुक्तानीको अभ्यास भइरहेको, २० लाख जनाले इन्टरनेट बैंकिङ सेवा लिइरहेको जानकारी दिनुभयो । मोवाइल र अनलाइनमार्फत वित्तीय कारोबारको सहजतासँगै चुनौति पनि बढेको उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. युवराज खतिवडासमेत अनलाइनमार्फत राष्ट्र बैंक नै ठगिएको उहाँले खुलासा गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वनाथ साहले आर्थिक वर्ष २०८०/८१ मा १ सय ८४ वटा मुद्दा अनलाइनमार्फत ठगीका घटनासम्बन्धी दर्ता भएको जानकारी दिनुभयो । पढेलेखेका व्यक्ति नै अनलाइन ठगीमा परिरहेको उल्लेख गर्नुहुँदै प्रहरी निरीक्षक साहले भन्नुभयो, ‘छिटो र धेरै पैसा कमाउने धुनमा पढेलेखेका मान्छेहरु अनलाइन ठगीमा परेका छन् ।’ डिजिटल संवादमा सहभागी सेवाग्राहीले भने बैंक तथा वित्तीय संस्थाले सेवा सहजै अभ्यास गर्ने भनिए पनि निरन्तर गुनासो गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।