हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हेटौँडामा महिला क्रिकेट उत्सव सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा मंगलबार बिहान हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ् गरेर उत्सवको सुरुवात गरिएको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न क्रिकेट उत्सवको आयोजना गरेको क्रिकेट उत्सव बुधबारसम्म सञ्चालन हुनेछ ।
बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा जिल्ला सदस्य प्रमे क्षेत्रीको संयोजकत्वमा हेटौंडा उपमहानगरका ६ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ७ वटा विद्यालयको टिम सहभागी रहेको छ । हेटौंडा–४, हुप्रचौरमा सुरु भएको महिला क्रिकेट उत्सवको उद्घाटन खेलमा हेटौंडा–८ को कमाने एकेडेमी र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुरको सामुदायिक र संस्थागत दुबै विद्यालयको सहभागितामा आयोजना गरेको क्रिकेट उत्सव प्रतियोगिताको खेल ६ ओभरको हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत नै मकवानपुर जिल्ला क्रिकेट संघले उत्सवको आयोजना गरेको संयोजक प्रेम क्षेत्रीले बताउनुभयो । अर्धवार्षिक परीक्षा चलिरहेकाले हेटौँडा उपमहानगरका सामुदायिक विद्यालय भने सहभागी हुन नपाएको कार्यक्रम संयोजक प्रेम क्षेत्रीले जानकारी दिनुभएको छ ।
महिला क्रिकेट उत्सवमा हेटौँडा–४ स्थित नवोदय शिशु सदन, हेटौँडा–५ स्थित जीएस निकेतन, सिद्धार्थ शिशु सदन, हेटौँडा–८ स्थित कमाने एकेडेमी, माउण्ट एभरेष्ट इंग्लिस स्कूल, हेटौँडा–११ स्थित हेटौँडा एकेडेमी र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयको सहभागिता रहेको छ । भानु माध्यमिक विद्यालयबाट २ वटा टिमको सहभागिता रहेको छ ।