विद्यार्थीले सञ्चालन गरेको कफी हाउसमा कफी लिनेको भीड ।

हेटौँडा ः हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसका विद्यार्थीको एक समूहले क्याम्पसमै कफी हाउस सञ्चालन गरेका छन् । बिहानी समूहमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत ६ जना विद्यार्थीको समूहले मंगलबारदेखि बिहान हाफ टाइममा कफी र स्याण्डविच बिक्री गर्न सुरु गरेको हो । विद्यार्थीले क्याम्पसमा सिक्ने, कमाउने अवसरका लागि कफी हाउस सञ्चालन गर्न दिइएको क्याम्पस प्रमुख देवीराम लामाले जानकारी दिनुभयो ।

सिजन चौलागाईंको नेतृत्वमा कन्चन श्रेष्ठ, प्रतिक उप्रेती, पूजा ठाकुर, सुजाता दाहालको समूहले कफी हाउस सुरु गरेको हो । प्रतिव्यक्ति २ हजार रुपैयाँ संकलन गरेर कफी हाउ सञ्चालन गरेको चौलागाईले जानकारी दिनुभयो । क्याम्पसले चौलागाई नेतृत्वको विद्यार्थी समूहसँग ३ महिनाको सम्झौता नै गरेको छ । “हामीले मूल्यसूचिसहित विद्यार्थीसँग सम्झौता नै गरेर कफी हाउस सञ्चालन गर्न दिएका छौं”, क्याम्पस प्रमुख लामाले भन्नुभयो, “विद्यार्थीले स्याण्डविचका बनाउन हाफ टाइमभन्दा अगाडि तयारी गर्नुहुन्छ । ३० मिनेटको हाफटाइममा जेजति कारोबार गर्न सक्छन् त्यत्तिमै सीमित गर्छौं ।”

खाने कुराको धेरै प्रकार नराखी स्याण्डविच र कफि मात्रै राखिएकोले विद्यार्थीलाई तयारी र बिक्रीका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । विद्यार्थीले कफि बनाउन विद्युतीय (इन्डक्सन) चुलो प्रयोग गरेका छन् । विद्यार्थीले प्रयोग गर्ने विद्युतको हिसाब गर्न क्याम्पसले सवमिटर नै राखिदिएको छ । कफि हाउस सञ्चालनका लागि क्याम्पसले कार्यविधि समेत बनाइदिएको छ । बिहानी सत्रमा हेटौँडा क्याम्पसमा कक्षा ११, १२ र स्नातक तहमा पठनपाठन भइरहेको छ । हेटौँडा क्याम्पसको बिहानी सत्रमा एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् ।