हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव समारोह सुरु भएको छ । मंगलबारबाट सुरु भएको वार्षिकोत्सव समारोहमा खेलकुदलगायत विविध कार्यक्रम आयोजना हुँदैछ ।
कार्यक्रम अन्तर्गत आज मंगलबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि दौड र स्मरण शक्ति परीक्षण प्रतियोगिता हुँदैछ । नर्सरी तथा केजी कक्षाका विद्यार्थीबीच तातो आलु खेल र कक्षा ४ र ५ का विद्यार्थीबीच बोरा दौड प्रतियोगिता आयोजना गरिनेछ । बुधबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सहभागितामा फुटबल, दौड, सटपुट, ज्याभलिङ थ्रो, भलिबल र मेमोरी टेष्ट र स्क्र्याबल प्रतियोगिता हुनेछ । विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि गुच्चा संकलन, बोत्तल अड्याउने, पानीको ग्लासमा बल पास गर्ने लगायतका खेल हुने विद्यालयले जनाएको छ ।
विद्यालयले शुक्रबार र शनिबार हाजिरीजवाफ प्रतियोगिता तथा कबड्डी तथा क्रिकेट खेल आयोजना गर्नेछ । प्लेग्रुपका बालबालिकाका लागि पेपर कप संकलन तथा रंग पहिचान खेल खेलाउने बताइएको छ । विद्यालयका साना बालबालिकालाई लक्षित गरी बोतलमा पानी भर्ने, बेलुन फुटाइ, बेलुन डान्स लगायतका मनोरञ्जनात्मक खेल आयोजना गरिनेछ ।
विद्यार्थीमा परम्परागत सीपको विकास गराउन विद्यालयले दुना, टपरी गाँस्न तथा कपासको बत्ती काट्न सिकाउने बताइएको छ । इच्छुक विद्यार्थीका लागि विद्यालयले वाद्यवादन तथा गायन कला विकास गराउनेसमेत जनाएको छ । विद्यालय विद्यार्थीलाई विभिन्न परिकार बनाउन सिकाएर वार्षिक उत्सव समापनको दिन खानाको परिकार बिक्री गर्ने तयारीसमेत गरेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीसहित अभिभावकबिच म्युजिकल चियर र घ्याम्पो फुटाउने खेलसमेत आयोजना गर्ने विद्यालयले जनाएको छ । विद्यालयका शिक्षकहरुबीच स्लो स्कुटी तथा बाइक रेस आयोजना गरिनेछ । आइतबार वार्षिक उत्सवको समापन गरिनेछ । उक्त दिन अभिभावक भेलासहित सम्मान तथा पुरस्कार वितरण गरिनेछ । समापनका दिन शैक्षिक सामग्री तथा कला प्रदर्शनी एवम् सांस्कृतिक नृत्य प्रदर्शन गर्ने विद्यालयले जनाएको छ ।